केपी ओली कप: सिइसी काठमाडौँ सेमिफाइनलमा प्रवेश

पोखरा । सिइसी काठमाडौँ को टोली केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा जारी दोस्रो संस्करणको प्रतियोगिता अन्तर्गत समूह ‘ए’ को विजेता बन्दै काठमाडौँ अन्तिम चारमा पुग्ने पहिलो टोली भएको हो ।
तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाण्डौले घरेलु टिम पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको हो । पोखरालाई हराउँदै कुल ३ खेलमा अपराजित रहँदै काठमाण्डौं ६ अङ्कका साथ समूह विजेता हुन सफल भयो ।
५४ रनको झिनो लक्ष्य पछ्याएको काठमाडौँले ४.२ ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनायो । काठमाडौँको जितमा कप्तान रित गौतमले आक्रामक पारी खेल्दै १५ बलमा ३६ रनको योगदान दिनुभयो ।
उहाँले ३ छक्का र ४ चौका प्रहार गर्नुभयो । त्यस्तै दिपेन्द्र रावतले ८ बलको सामना गर्दै १ चौका र २ छक्का साथ १९ रन जोड्न सफल हुनु भयो । त्यसअघि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पोखरा १७.२ ओभरमा अलआउट हुँदै ५३ रन मै सीमित भएको थियो ।
म्यान अफ दि म्याच समेत रहेका सिइसी काठमाडौँका दिपेन्द्र रावतले र युनिश विक्रम सिंह ठकुरीले समान ३/३ विकेट हात पार्नुभयो । दीपेन्द्रले आफ्नो ४ ओभरको स्पेलमा ८ रन दिएर ३ विकेट लिनुभयो भने विक्रमले ३.२ ओभरमा ९ रन दिएर ३ विकेट लिन सफल हुनु भयो ।
पोखराका कविन सापकोटाले १२ रनको दोहोरो रन बनाउनु बाहेक अन्य खेलाडीहरू क्रिजमा टिक्न सक्नु भएन । त्यस्तै काठमाडौँका लागि सूर्य तामाङले २ विकेट तथा मनोज यादव र अशोक बोहोराले समान १÷१ विकेट लिनु भयो ।
सोही समूहको दोस्रो खेलमा हेटौडा स्पोट्र्स एकेडेमीले स्याङ्जा क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको छ । १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको हेटौडाले १८.४ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८० रन बनाउन सफल हुनु भयो । हेटौडाको जितमा अकिलेश ठाकुरले ५२ रनको अविजित अर्धशतकीय पारी खेल्नु भयो भने उहाँले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गर्नुभयो । राम नरेश गिरिले २० रनको अविजित पारी खेल्नुभयो । सुभ कंशाकारले ४२ रनको पारी खेल्दै क्याचआउट हुन पुग्नु भयो । उहाँले २० बलमा ४ चौका, ४ छक्का प्रहार गर्नुभयो ।
स्याङ्जाका लागि सुजन गौतमले २ तथा मिलन लुइँटेल, सन्दिप खत्री क्षेत्री र अश्विनी रानाले समान १/१ विकेट लिनुभयो ।
टस जितेर ब्याटिङ थालेको स्याङजा १९.५ ओभरमा १ सय ७६ रन बनाउँदै अलआउट हुन पुग्यो । ओपनर ईश्वर क्षेत्री ९ रन बनाउँदै बोल्ड हुनुभयो । करण पगेनी ११ रनमा क्याच आउट हुँदा सन्दिप क्षेत्रीले ७० रनको उत्कृष्ट पारी खेल्नु भयो । उहाँले ४३ बलको सामना गर्दै ५ चौका र ५ छक्का प्रहार गर्नुभयो । हेटौडाका असिम श्रेष्ठले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ५ विकेट लिनुभयो । अकिलेश ठाकुरले २ तथा सांसद अलि मन्सुरी र रामनरेश गिरिले समान १/१ विकेट लिनुभयो ।
प्रतियोगिताको चौथो दिन भोलि समूह ‘बि’ तर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमी बिच पहिलो खेल हुने छ भने सोही समूह अन्तरगत गण्डकी हिरोज र चितवन क्रिकेट क्लब बिच दोस्रो खेल हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्