तपाईँ सुन्दै हुनुहुन्छः

माइती नेपालको ३३ वर्षः जोखिममा श्रमिक महिला 

चितवन । नेपालमा श्रमिक महिलाहरू जोखिम मोलेरै काम गर्न बाध्य भएको पाइएको छ । तर, जस्तोसुकै समस्यामा परे पनि आफ्नो समस्या बाहिर ल्याउँदा पाइरहेकै सुविधाबाट समेत वञ्चित हुनुपर्ने डरले कसैलाई नभन्ने गरेको सम्बन्धित क्षेत्रमा काम गर्दै आएका संस्थाहरूले बताएका छन् ।

‘जसबाट अवसर पाउँछ उसैबाट विभिन्न खालको हिंसा भइरहन्छ’, श्रमिक नेपालकी अध्यक्ष सावित्री पौडेलले माइती नेपालको ३३औँ वार्षिकोत्सवको अवसरमा भएको छोटो अन्तक्र्रियामा भन्नुभयो, ‘सहनै नसक्ने नभएसम्म बाहिर आउनै नचाहने समस्या छ ।’ पाइरहेको रोजगार पनि गुम्ने डरले आफ्ना समस्या लुकाएरै काम गरिरहेका उहाँले बताउनु भयो ।

‘अस्पतालहरूमा हेर्ने हो भने बोरा सिउनेदेखि मान्छेका लास सिउनेसम्मका काम हुन्छन्’, उहाँले भन्नुभयो, ‘त्यस्ता श्रमिकहरू आफूभन्दा माथिल्लो तहका कर्मचारीबाट कस्तो समस्यामा छन् भन्ने कुरा हामीले कल्पनामात्रै गर्ने हो । त्यसमाथि ठेकेदारले गर्ने व्यवहार अर्को विषय हो ।’ ठेकेदारहरूबाट हुने श्रम शोषणको विषय कहिल्यै बाहिर नआउने उहाँको भनाइ छ ।

सामुदायिक महिला सेवा समाजका अध्यक्ष महेशकुमार यादवले पनि कुनै पनि क्षेत्रमा काम गर्ने श्रमिक ठेकेदारबाटै शोषणमा पर्ने गरेको बताउनु भयो । ‘ठेकेदारले कम्पनीसँग लिने तलब २२ हजार हुन्छ, श्रमिकले पनि त्यही सम्झौतामा हस्ताक्षर गर्छ । तर, तलब पाउने बेलामा १२ हजार पाइरहेको हुन्छ, १४ हजार पाइरहेको हुन्छ’, उहाँले भन्नुभयो, ‘सम्झौतामा पूरै तलब लिएको देखिन्छ, तर भित्री कथा अर्कै छ ।’

सबैभन्दा धेरै अस्पतालहरूमा कार्यरत सरसफाइकर्मीसहित विभिन्न क्षेत्रमा सुरक्षा गार्डमा काम गर्ने श्रमिकहरू बढी समस्यामा रहेका उहाँको भनाइ छ । ‘रात्रिकालीन क्षेत्रमा काम गर्नेहरुको हालत उस्तै छ’, उहाँले भन्नुभयो, ‘कुनै व्यक्तिले सहन नसकेर बाहिर आउँदा उसले न्याय पाउन पनि ज्यादै कठिन छ ।’ व्यवसायी, राजनीतिक दललगायत चौतर्फी दबाब आउने हुँदा समस्या देखिइसकेपछि समाधानको टुङ्गोमा पुग्न पनि सहज नहुने गरेको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलले सबैभन्दा बढी जोखिममा अभिभावक नभएका व्यक्तिहरू हुने गरेको जनाएको छ । ‘प्रहरीसम्म जति पनि घटना दर्ता हुन्छन्, उनीहरूको प्रकृति हेर्दा अभिभावकविहीन अवस्थामा रहेका व्यक्ति बढी देखिन्छन्’, जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक नीलम तामाङले भन्नुभयो, ‘प्रहरीसम्म आइपुग्ने व्यक्तिले पनि आफूमाथि परेका समस्याबारे खुलेर बोल्न मान्दैनन् ।’ त्यसकारण त्यस्ता व्यक्तिलाई राम्रोसँग परामर्श दिलाएर बुझाउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो ।

माइती नेपालजस्ता संस्थाले प्रहरीको काम, कर्तव्यमाथि धेरै ठूलो सहयोग गरेको उहाँले बताउनुभयो  । माइती नेपालको तथ्याङ्क हेर्दा सन् २०२४ मा तीन हजार ७८३ जनालाई प्रहरीमार्फत परिवारमा पुनर्मिलन गराइएको छ । माइती नेपालले एक वर्षमा ११८ जनालाई सिमानाबाट सीधै घर पठाएका छन् । ५५० जनालाई उद्धार गरिएको माइती नेपाल चितवन शाखाका कार्यक्रम संयोजक ईश्वर गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button