जीतपुरसिमरा गोल्डकपः साविक विजेता पुलिसलाई पन्छाउँदै मच्छिन्द्र सेमिफाइनलमा

बारा । मच्छिन्द्र फुटबल क्लब जीतपुरसिमरा गोल्डकपको १५ औँ संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ ।
साविक विजेता पुलिसलाई टाइव्रेकरमा ४–३ गोल अन्तरले पन्छाउँदै मच्छिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो । मच्छिन्द्रको जितमा गोलरक्षक विशाल सुनार नायक बन्नुभयो । खेलको म्यान अफ दि म्याच विशालले टाइव्रेकरमा पुलिसको अन्तिम महत्वपूर्ण प्रहार विफल पार्दै मच्छिन्द्रलाई ४–३ गोल अन्तरको जित दिलाउनुभएको हो ।

टाइव्रेकरमा मच्छिन्द्रका लागि गोलरक्षक विशाल सुनार, विपन श्रेष्ठ, अशिम गुरुङ र पुजन श्रेष्ठले गोल गरेका थिए भने विवेक राईको प्रहार गोलपोष्ट भन्दा परबाट बाहिरिएको थियो ।पुलिसका लागि गोलरक्षक अमित टमाटा, पुजन राई र कप्तान मानबहादुर परियारले गोल गरेका थिए । पुलिसका विवेक पाण्डेको प्रहार गोलपोष्ट भन्दा परबाट बाहिरिएको थियो भने अरुण गाहाको प्रहार मच्छिन्द्रका गोलरक्षकले पञ्च गर्दै बाहिर पठाए ।यसअघि निर्धारित ९० मिनटको खेलमा बनाएको सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल प्रहरीको विभागीय टोली प्रतियोगिताबाट बाहिरियो ।
पुलिसले विवेक पाण्डेको फ्रिकिक गोलबाट दोस्रो हाफको सुरुवातमै अग्रता बनाएको थियो । डिबक्स बाहिर मच्छिन्द्रका रेजिन सुब्बाले पुलिसका प्रज्वल चौधरीलाई फाउल गरेपछि पुलिसले फ्रिकिक प्राप्त गरेको थियो । करिब २५ यार्ड परबाट विवेक पाण्डेले प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो । प्रतियोगिता अन्तर्गत सोमबार राती अन्तिम क्वाटर फाइनलमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब भिड्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्