जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुँदै

बाँके । तराई/मधेशमा पहिचानवादी निर्णायक शक्ति बन्ने लक्ष्यका साथ जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुन लागेको जनमत पार्टीले जनाएको छ ।
जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी एकताको काम अन्तिम चरण पुगेको बताउनु भएको छ ।
जनमतका अध्यक्ष राउत र नाउपा संरक्षक चौधरी सहित उच्च स्तरीय नेताहरूको आइतबार बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले पार्टीको नाम र चुनाव चिह्नमा सहमति गरेको हो ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय दलको आधारमा राष्ट्रिय दलको हैसियतले एकीकरणको नेतृत्व जनमत पार्टीले लिने बताउनु भएको छ । एकीकरणका लागि दुवै पार्टीबीच कुनै डिमाण्ड नभएको अध्यक्ष राउतको भनाइ छ । उहाँले भन्नुभयो, ‘केही कुरामा समझदारी नभए दुवै पार्टीले आ–आफ्ना अडान छाड्नेछौँ । जति हुन्छ छिटो एकीकरणको मुद्दा टुङ्ग्याउने छौँ । पहिचानको मुद्दा दुवै पार्टीको हो ।’
रेशम चौधरीले भन्नुभयो, पार्टीको नाम नागरिक जनमत, चुनाव चिह्न ढकिया, पार्टीको संरक्षकमा रेशम चौधरी र कार्यकारी अध्यक्षमा सीके राउत रहने सहमति भई सकेको छ । रेडियो नेपालसँग आज सोमबार कुराकानी गर्दै जनमतका उपाध्यक्ष एवं पूर्व मन्त्री अब्दुल खानले चुनाव चिह्न ढकिया राख्ने निर्णय भएको बताउनु भयो । ढकिया नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न हो । आयातकार आकारको झण्डाको बीचमा ढकिया राखिने सहमति भएको खानको भनाई छ ।
क्षेत्रको हिसाबले चितवनदेखि झापासम्म राउतलाई जिम्मा दिइने सहमति भएको छ भने चितवनदेखि पश्चिम रेशम चौधरीलाई मस्यौदा समितिले जिम्मेवारी तोकेको खानले बताउनुभयो ।
विधान तयार भए लगत्तै कार्यसमितिको बैठकमा छलफल गरी कानुनी प्रक्रियामा जाने तयारी भइरहेको उपाध्यक्ष खानले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, वैशाख दोस्रो साताभित्र पार्टी एकीकरणको विषय टुङ्गो लगाई वैशाख १५ गते घोषणा गरिने तयारी गरिएको छ ।
जनमतका नेता सजाय यादवले पार्टी एकीकरणलाई सकारात्मक रुपमा लिइएको बताउनु भयो । ‘दुवै दलबीच एकीकरण भएपछि तराई–मधेशमा ठूलो शक्ति बनेर आउनेछ,’ उहाँले भन्नुभयो, ‘पूर्वी र पश्चिम मधेशमा नयाँ लहर ल्याउनेछ ।’
जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले पनि पार्टी एकीकरण प्रक्रिया करिब अन्तिम चरणमा पुगेको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा तराई÷मधेशमा पहिचानवादी निर्णायक शक्ति बन्ने लक्ष्यका साथ पार्टी एकता हुने लागेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्