पश्चिमी र स्थानीय वायुको प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, यी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।
तर देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना कम भएकाले सुख्खापन, आगलागी र वायु प्रदूषणको स्तर बढ्न सक्ने अनुमान गरिएको छ। यसले स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक र हवाई यातायातमा असर पुर्याउन सक्ने भएकाले महाशाखाले यसबाट बच्न आवश्यक उपायहरू र सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रतिक्रिया राख्नुहोस्