तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले सुर्खेतमा चैत २६ गते जनजागरण सभा गर्दै 

सुर्खेत । नेकपा एमाले सुर्खेतले यहीँ चैत २६ गते वीरेन्द्रनगरमा हुने जनजागरण सभाका लागि आवश्यक सम्पूर्ण तयारीहरू पुरा भएको जनाएको छ । 

जिल्ला कमिटीले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय मंगलगढीचोकदेखि शुरु हुने र्याली बीच बजार हुँदै पिपलचौतरामा पुगेर जनजागरण सभामा परिणत हुने जानकारी दिएको हो । 

“लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा ऐक्यबद्धता जनाऔँ, बृहत् जनप्रदर्शनसहितको जागरण सभामा सहभागी बनौँ” भन्ने मूल नाराका साथ हुने सभालाई एमाले महासचिव शङ्कर पोखरेल सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिनुभयो । 

उहाँले एमाले सुर्खेतको आयोजना तथा प्रदेश कमिटीको संयोजनमा हुने जनप्रदर्शनमा करिब १० हजार सर्वसाधारण सहभागी हुने बताउनुभयो । नेपाली जनताका लागि कुनै पनि प्रकारको निरङ्कुशता, पश्चगमन र वंशगत आधारमा सामन्ती तन्त्र अस्वीकार्य हुँदै आएको उल्लेख गर्दै अध्यक्ष देवकोटाले देशी विदेशी शक्तिहरूले गणतन्त्र र संविधान विरोधी प्रतिगामी षडयन्त्रहरू गर्न खोजिरहेकाले अराजकता र मुलुकलाई अस्थिर बनाइराख्ने क्रियाकलापविरुद्ध जनजागरणसभा आयोजना गर्न लागिएको जनाउनुभयो । 

कार्यक्रममा एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, प्रदेश अध्यक्ष गुलाबजंग शाह, सुर्खेत जिल्ला ईन्चार्ज नवराज रावतलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button