तपाईँ सुन्दै हुनुहुन्छः

फेवा नव वर्ष महोत्सवको तयारी अन्तिम चरणमा, होटल आवासमा २० प्रतिशत छुट  

पोखरा । नेपाली नयाँ बर्ष २०८२ को अवसरमा पोखरामा आयोजना हुने २० औँ संस्करणको फेवा नव वर्ष महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही चैत ३० गते देखि वैशाख १ गतेसम्म पोखरामा आयोजना हुने उक्त महोत्सवको तयारी अन्तिम चरणमा पुगेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । 

उक्त महोत्सव पोखराको खहरेदेखि ड्याम साइडसम्मको सडकमा आयोजना हुने भएको छ । प्रदेश स्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, पर्यटक दौड प्रतियोगिता (ड्यामसाइड देखि लेकसाइडसम्म) महोत्सवका आकर्षण रहने भएको उहाँले जनाउनु भयो । 

ब्याडमिन्टन कप, स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरूको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि प्रस्तुत हुने संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक दीपक श्रेष्ठले बताउनु भयो ।

महोत्सवको प्रायोजकमा बन्दीपुर केबलकार लि. फोन पे, अन्नपूर्ण केबलकार लि, टोकला चिया रहेका छन् । इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी रहेका छन् । 

पोखरा महानगरले सन् २०२५ मा पोखरामा आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक भित्राउने लक्ष्यलाई सफल पार्न सङ्घले जनवरी देखि आउँदो डिसेम्बरसम्म होटल आवासमा २० प्रतिशत छुटको व्यवस्था गरिएको सुवेदीले उद्घोष गर्दै आएका आउनु भएको छ । सङ्घमा आबद्ध पोखरा सहितका क्षेत्रमा ४ सय २५ वटा होटलहरु रहेको संघका द्वितीय उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक गणेशराज पहारीले जानकारी दिनुभयो । 

९० प्रतिशत होटल अकुपेन्सि पुग्ने लक्ष्यका साथ सङ्घले विभिन्न प्रचारात्मक कार्यक्रम गर्दै आएको अध्यक्ष सुवेदीले दाबी गर्नु भयो । पर्यटनको राजधानी पोखरामा हाल होटल अकुपेन्सि करिब ५० प्रतिशत रहेको सङ्घले जनाएको छ । 

पोखरामा सन २०२५ मा २० लाख पर्यटक भित्राउने लक्ष्य सहित सुरु भएको पोखरा भ्रमण वर्षको अवसरमा सङ्घले सङ्घमा आबद्ध होटल आवासमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ । पर्यटन, संस्कृति र खानाको समेत महोत्सवले प्रबद्र्धन गर्ने भएको उहाँको भनाई थियो । 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रर्बद्धनमा हुने महोत्सवमा यस बर्ष गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न सांस्कृतिक कार्यक्रम सहितको झाँकी समेत प्रदर्शनीको तयारी भएको सङ्घले जनाएको छ । रेवान पोखराले समेत उक्त महोत्सवलाई सफल पार्न सहुलियत दरमा खानाका विभिन्न परिकार पस्कने तयारी गरेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button