तपाईँ सुन्दै हुनुहुन्छः

केपी ओली कप: काठमाडौँको जित

पोखरा । पोखरामा जारी दोस्रो केपी ओली कप टि–२० राष्ट्रिय खुल्ला क्लब स्तरीय पुरुष क्रिकेटमा आइतबार भएको दोस्रो खेलमा काठमाडौँले जित हासिल गरेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँले स्याङ्जालाई ७ विकेटले पराजित गरेको हो । 

समूह‘ए’बाट दुई खेलमा जित हासिल गर्दै सिइसी काठमाडौँ सेमिफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । १ सय २७ रनको विजयी लक्ष्य पाएको काठमाडौँले १४.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो । काठमाडौँको जितमा दिपेन्द्र रावतले ४९ रनको योगदान दिँदै क्याच आउट हुनु भयो । उहाँले ४२ बलमा ५ चौका र २ छक्का प्रहार गर्नुभयो । ओपनर रित गौतमले २३ बलमा ६ चौका र १ छक्काको मद्दतमा३८ रन बनाउँदै क्याचआउट हुनु भयो  । पृथु बास्कोटा २१ रनमा र अर्जुन घर्ती ७ रनमा नकआउट हुनु भयो ।  यता, स्याङ्जाका लागि अश्विनी रानाले २ तथा किरण भट्टराईले १ विकेट लिनुभयो । 

टस जितेर ब्याटिङ थालेको स्याङ्जाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २६ रनको योगफल तयार पारेको थियो । ओपनर करण पंगेनी १४ रनमा आउट हुनु भयो । १४ बलमा उहाँले १ चौका र १ छक्का प्रहार गर्नुभयो । ईश्वर क्षेत्रीले ३४ रनको योगदान दिँदा उहाँले २४ बलमा ४ चौका र २ छक्का प्रहार गर्नुभयो । 

काठमाडौँका दिपेन्द्र रावतले ४ विकेट लिनुभयो । उहाँ खेलको म्यान अफ दी म्याच समेत घोषित हुनु भयो । यस्तै मनोज यादव, युनिश विक्रम सिंह र सूर्य तामाङले समान १/१ विकेट लिनुभयो । यसैबिच, काठमाडौँले यस अघि हेटौडालाई हराएको थियो ।

सोही समूहको अर्को खेलमा हेटौँडा स्पोट्र्स एकेडेमीले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ४ विकेटले हरायो । प्रतियोगितामा सोमबार (भोलि) तेस्रो दिन समूह ‘ए’तर्फको पोखरा महानगरपालिका र काठमाडौँ तथा सोही समूहको हेटौडा र स्याङ्जा बिच खेल हुने भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button