तपाईँ सुन्दै हुनुहुन्छः

केपी ओली कप: पोखरा विरुद्ध हेटौडाको सहज जित

पोखरा । केपी ओली कप राष्ट्रिय खुल्ला टि–२० पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलमा हेटौडा विजयी भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी खेलमा पोखरा महानगर क्रिकेट क्लबलाई हेटौडाले ४ विकेटले पराजित गरेको हो । 

जारी प्रतियोगितामा घरेलु मैदानमा पोखराको लगातार यो दोस्रो पराजय हो । पोखरा पहिलो खेलमा स्याङजा सँग पराजित भएको थियो । समूह ‘ए’को खेलमा पहिलो दिन हेटौडा सँग एक खेल गुमाएको पोखरा महानगरलाई पराजित गर्दै २ अंक जोड्न सफल भएको छ । 

यस अघि टस जितेर ब्याटिङमा उत्रिएको पोखरा महानगर १६.५ ओभरमा सबै विकेट गुमाउँदै ७१ रनमै सीमित भयो । पोखराका लागि सुमित श्रेष्ठले ३ चौकाका साथ ३९ बलमा २६ रनको सर्वाधिक पारी खेल्दा प्रमोद बास्तोलाले १६ बलमा ३ छक्काका साथ २२ रन बनाउँदा दिपक बरालले १४ रन बनाउनु भयो । 

पोखरालाई सस्तैमा समेट्न अशिम श्रेष्ठ र अखिेलश ठाकुरले समान ३/३ विकेट हात लिनुभयो । खेलको म्यान अफ दि म्याच समेत रहेका अशिमले ३.५ ओभरमा २२ रन खर्चिएर ३ विकेट लिनुभयो । अखिलेशले ३ ओभरमा १३ डटबल राख्दै ८ रन दिएर ३ विकेट हात लिनुभयो । त्यस्तै सम्सुद अल मन्सुरीले २ विकेट लिनुभयो ।  

यता ७२ रनको लक्ष्य पछ्याएको हेटौडा १२ ओभरमा ६ विकेट गुमाउँदै जित दर्ता गर्‍यो । हेटौडाको जितमा ओपनर गौरभ खड्काको भूमिका महत्वपूर्ण रह्यो । ३२ बलको सामना गर्नुभएको उहाँले ४ चौका साथ ३२ बलमा ३४ रन जोड्नु भयो । 

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनमा सुरु भएको क्रिकेटमा १६ टिमको सहभागिता रहेको छ । वैशाख ५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button