रामनवमीको अवसरमा जनकपुरधामको मठ मन्दिरमा विशेष पूजापाठ

जनकपुरधाम । रामनवमीको अवसरमा जनकपुरधामको मठ मन्दिरहरूमा आज बिहान देखि नै भक्तजनहरूले पूजा पाठ गरिरहेकाले अत्यधिक भिड रहेको छ ।
आजैका दिन आशुरी प्रवृत्तिको नाश गर्न धर्म रक्षा गर्न तत्कालीन अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्रको रुपमा मर्यादा पुरुषोत्तम श्रीराम मानवको रुपमा जन्म लिनुको स्मरणमा जनकपुरधामको मठ मन्दिरहरूमा विशेष पूजा पाठका लागि भक्तजनहरू जनकपुरधाम आउने गरेका छन् ।
भगवान् श्रीरामको शुभ विवाह तत्कालीन मिथिलाका राजन जनकका सुपुत्री सितासँग भएको र विवाह पश्चात् भगवान् श्रीराम विवाहको कोठा अर्थात् कोहवर घर बाहिर नगएको मान्यता मिथिला बासीमा रहेका छ ।
मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको मिथिलामा आत्मीय स्वागत र सम्मान भएका थिए त्यसपछि उहाँ अयोध्या नै नफर्केको र अहिले पनि मिथिलामा नै विराजमान रहेको जनविश्वास सहित जनकपुरधाममा श्रीरामको विशेष पूजापाठका साथै वर्षेनी रुपमा सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव मनाउने गरिएको छ ।
आज बिहान देखि श्रद्धालु भक्तजनहरूले जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको गंगासागर, धनुषसागर अंगराजसर, दुग्धमति सतिका नदी एवं पोखरीमा स्नान गरेर जनकपुरधामको जानकी मन्दिर, राममन्दिर, जनकमन्दिर र विहारकुण्डमा रहेको मठ मन्दिरहरूमा पूजा आराधना गर्ने गरेका छन् । रामनवमीको अवसरमा जानकी जानकी मन्दिरमा बधाई गान सहितका विशेष पूजा तथा आरतीको आयोजना गरिएको छ ।
यसैगरि राममन्दिरमा आएका साधुसन्तहरुलाई विशेष भण्डाराका साथै विदाई दिने कार्यक्रम रहेको छ । गुठी संस्थानले सुाधुसन्तहरुलाई आजको दिनमा मालपुवा सहितका परिकारहरू तयार पारेर भण्डारा खुवाउनुका साथै विदाई दिने कार्यक्रम रहेको छ ।
त्यस्तै विश्व हिन्दू परिषद् नेपालको आयोजनामा आज साँझ जनकपुरधामको राम मन्दिरबाट बृहत् धार्मिक शोभा यात्रा निकालिने भएको परिषद्का जिल्ला अध्यक्ष सन्तोष साहले जानकारी दिनु भएको छ । शोभा यात्रालाई ध्यानमा राखेर जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाउने काम भएको छ ।








प्रतिक्रिया राख्नुहोस्