तपाईँ सुन्दै हुनुहुन्छः

यही चैत ३० गतेदेखि दोस्रो संस्करणको ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल’

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक बास्केटबल सङ्घले यही चैत ३० गतेदेखि दोस्रो संस्करण ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको प्राङ्गणमा आयोजना गरिएको प्रतियोगितामा मुलुकभरका उत्कृष्ट खेलाडी एउटै कोर्टमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ४० पुरुष र १५ महिलाको समूहबीच प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगिताको आवश्यक तयारी, व्यवस्थापन तथा प्रचारप्रसार र टिम दर्ता भइरहेको सङ्घका अध्यक्ष शिव थापामगरले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता टिमले शिल्ड, प्रमाणपत्रसहित नगद रु ४० हजार पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता टिमले रु २० हजारसहित आकर्षक उपहार भौचर प्राप्त गर्नेछन् ।

बास्केटबलको विकास र नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता केबल खेलको मैदानमा मात्र सीमित नभई नेपालमा बास्केटबल संस्कृतिलाई थप मजबुत बनाउँदै खेलाडी, समर्थक र समग्र समुदायलाई एकसाथ ल्याउने लक्ष्य राखेको आयोजकको दाबी छ । यस्तै प्रतियोगिताले नयाँ पुस्ताका खेलाडीलाई प्रोत्साहित गर्न तथा उनीहरूलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले गरेका छन् ।

प्रतियोगिताको करिब तीन हजार दर्शकले प्रत्यक्ष रूपमा अवलोकन गर्ने अपेक्षा गरिएको जनाइएको छ । यसअघि सङ्घले गत वर्ष बनेपामा पहिलो संस्करणको उक्त प्रतियोगिता सम्पन्न गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button