‘दी त्रिशूली अल्ट्रा’मा नेपाल आर्मीको बर्चश्व
त्रिशूली (नुवाकोट)। नेपाल एड्भेन्चर रनिङ महासङ्घद्वारा यहाँ आयोजित ‘दी त्रिशूली अल्ट्रा–२०२५’ मा महिला र पुरुष दुवैतर्फको विधामा नेपाल आर्मीको बर्चश्व रहेको छ । आर्मी क्लबबाट सहभागी पुरुषतर्फ होमलाल श्रेष्ठ र महिलातर्फ सुनसरी रोकाय प्रथम हुनुभयो ।
बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरबाट शनिबार सुरु भएर विदुर–५ स्थित जालपादेवी मन्दिरमा पुगेर सम्पन्न भएको ५८ किलोमिटर दौडमा पुरुषतर्फ आर्मीका श्रेष्ठले निर्धारित दूरी चार घण्टा ३३ मिनेटमा पूरा गर्नुभयो । आर्मीकै गोपाल तामाङ दोस्रो हुनुभयो । उहाँले निर्धारित दूरी चार घण्टा ३५ मिनेटमा पूरा गर्नुभयो । सोलुखुम्बुका अर्जुनराज कुलुङ तेस्रो हुनुभयो । उहाँले तोकिएको दूरी चार घण्टा ४१ मिनेटमा पूरा गर्नुभएको प्रतियोगिताको संयोजक राजन खत्रीले जानकारी दिनुभयो ।
उहाँको अनुसार महिलातर्फ प्रथम भएका आर्मीका रोकायाले निर्धारित दूरी पाँच घण्टा ५१ मिनेटमा पूरा गर्नुभयो । दोस्रो स्थानका लागि खोटाङका निर्मला राईले छ घण्टा १३ मिनेटमा निर्धारित दूरी पूरा गर्दा नेपाल प्रहरीका लाक्पानिमा शेर्पाले सात घण्टा १४ मिनेटमा पूरा गर्नुभयो ।
प्रतियोगितामा उत्कृष्ट भएका धावक (खेलाडी)लाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले नगदसहित प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गर्नुभयो । प्रतियोगितामा पुरुष र महिला दुवै समूहबाट प्रथम हुनेलाई नगद रु एक लाख, दोस्रो हुनेलाई रु ७५ हजार र तेस्रो हुनेलाई रु ५० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
बागमती प्रदेसको खेलकुद विकास परिषद्को आर्थिक सहयोगमा नुवाकोटमा पहिलोपटक आयोजना गरिएको ‘ट्रेल रनिङ’ स्वरुपको दौड प्रतियोगितामा अन्तरराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेका १४६ महिला र पुरुषको सहभागिता थियो ।
उक्त अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री तामाङले प्रतियोगितामार्फत नयाँ खेलाडीको उत्पादन गर्न, धावकको व्यक्तिगत क्षमता सुधार गर्न र नुवाकोटको धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको प्रचारप्रसारमा योगदान पुगेको बताउनुभयो । प्रतियोगिताको आगामी संस्करण नुवाकोटको बेलकोटगढीबाट सुरु गरेर चीनसम्मको सीमा क्षेत्र रसुवागढीसम्म सञ्चालन गर्न आयोजकलाई सुझाब दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्