समाज रुपान्तरणका लागि महिला सशक्तिकरण जरुरी
काठमाडौँ । समाज रुपान्तरणका लागि महिला सशक्तिकरण आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको महिला पत्रकारहरूको क्षमता अभिवृद्धि कार्यक्रमका सहभागीहरूले समाजलाई समयानुकूल परिवर्तन तथा क्रियाशील बनाउन महिला पत्रकारहरूको भूमिका महत्वपूर्ण रहको बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आर्थिक, विज्ञान प्रविधि, जलवायु परिवर्तन, विपद्लगायतका खोजमूलक स्थानमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताउनुभयो ।
सचिव अर्यालले राज्य र समाजमा प्रभाव पार्न सक्ने र पहिचान दिलाउने ठाउँमा महिला पत्रकारको सहभागिता बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
पुराना नीति तथा ऐन कानुन परिमार्जन हुने क्रममा रहेकाले छलफलबाट उठेका मुद्दाहरूलाई संवोधन गर्ने गरी मन्त्रालय अगाडी बढ्ने सचिव अर्यालले बताउनुभयो ।
सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले पत्रकारको हक, हित संरक्षणमा सम्बन्धित निकायले गम्भीर रुपमा सोच्नुपर्ने र निर्णायक तहमा महिला पत्रकारको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका कार्यबहाक अध्यक्ष दिपक आचार्यले अप्ठ्यारो परिस्थितिमा पनि महिला पत्रकारहरू आफ्नो पेशाप्रतिको उत्तरदायित्व वहन गर्ने विषयमा बढी संवेदनशील र जिम्मेवार रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासघका पूर्व अध्यक्ष एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको विषयमा सम्बन्धित सबै पक्ष गम्भीर बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सहसचिव एवं सञ्चार महाशाखा प्रमुख गजेन्द्र कुमार ठाकुर, सार्वजनिक सेवा प्रसारण नेपालका नायव महाप्रबन्धक आरती चटौतलगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्