तपाईँ सुन्दै हुनुहुन्छः

सर्वदलीय सहमतिपछि मधेश प्रदेशसभाको गतिरोध हट्यो 

जनकपुरधाम । मधेस प्रदेशसभामा विपक्षी दलहरूले विभिन्न योजनाहरूमा छानविन समिति गठन हुनु पर्ने विषयमा सत्तारुढ दलहरू सहमत भएपछि प्रदेश सभाको गतिरोध हटेको छ । 

आज बोलाइएको सर्वदलीय बैठकमा प्रदेश सभामा उठेका विषयहरूमा छानविन गर्न समिति गठन गर्ने सहमति भएको जनता समाजवादी पार्टी, नेपालका संसदीय दलका नेता पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले जानकारी दिनु भएको छ । 

उहाँले मङ्गलवार बस्ने प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने र त्यसको भोली पल्ट बुधबार बस्ने बैठकमा प्रश्न उठेको विषयमा मन्त्रीले सम्बोधन गर्ने र त्यसपछि छानविन समिति गठन गरिने सहमति भएको जानकारी दिनु भयो । 

सबै दल मिलेर भव्य रुपमा स्वागत गर्दै प्रधानमन्त्रीलाई प्रदेश सभामा सम्बोधन गर्न दिने र भोली पल्ट योजना खरिदबिक्री लगायतको विषयमा आफूहरूले प्रदेश सभाको बैठक अवरोध गरेकोमा मन्त्रीले जवाफ दिएपछि छानविन समिति गठन गरिने विषयमा सहमति भएको बताउनु भयो । 

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले चैत्र २६ गतेको प्रदेश सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मात्र सम्बोधन गर्ने कार्यसूची रहेको भन्दै त्यसको भोली पल्ट मन्त्रीहरूले जवाफ दिएपछि त्यसै बैठकले संसदीय छानविन समिति गठन गर्ने सहमति भएको जानकारी दिनु भयो । 

यता, मुख्यमन्त्री सतिशकुमार सिंहले छानविन समिति गठन गर्ने सहमति भएको बताउँदै प्रधानमन्त्रीले सम्बोधन गरेको भोली पल्टको बैठकमा आरोप लागेका मन्त्रीहरूले जवाफ दिएपछि छानविन समिति गठन गरिने सहमति भएको जानकारी दिनु भयो । 

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको उपस्थितिमा तेस्रो पटक सत्तापक्ष र विपक्षी दलका नेता, सचेतक एवं प्रदेशसभा सदस्यहरूको उपस्थितिमा भएको बैठकमा सहमति भएको हो । 

यसअघि दुई दिन बोलाइएको सर्वदलीय बैठक विना कुनै निष्कर्ष टुङ्गिएको थियो । आगामी चैत्र २६ गते मङ्गलवार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम रहेकाले त्यसअघि नै प्रदेशसभामा रहेको अवरोध हटाउन दलहरुबीच पटक पटक छलफल भइरहेको थियो ।

यसअघि बुधबार बोलाइएको सर्वदलीय बैठकमा सत्तापक्ष र विपक्षी दल आफ्नो अडानमा कायम नै रहेपछि बिना निष्कर्ष बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button