तपाईँ सुन्दै हुनुहुन्छः

स्ववियु निर्वाचन स्थगितको विरोधमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी आमरण अनसनमा 

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा यही चैत्र २७ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित गरिएपछि विद्यार्थीहरू आन्दोलित बनेका छन् ।

 विद्यार्थी नेता छत्र खड्काको अगुवाइमा स्ववियु निर्वाचन अविलम्ब गर्नुपर्ने मागसहित बिहीबारदेखि आमरण अनसन सुरु गरिएको हो । चैत्र १७ गते स्ववियु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको तालाबन्दीपछि निर्वाचन स्थगित गरिएको थियो । सो निर्णयविरुद्ध खड्काले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसअघि पनि यस्तै तालाबन्दीका कारण दुई वर्षसम्म विद्यार्थी प्रतिनिधिविहीन बनेका थिए । फेरि पनि त्यही अवस्थाको पुनरावृत्ति हुन लागिरहेको छ ।’

विज्ञप्तिमा उल्लेख गरिएको छ कि यदि यसपालिको निर्वाचन पनि स्थगित भयो भने सुदूरपश्चिम विश्वविद्यालय ऐन २०६७ अनुसार विश्वविद्यालयको सभा सदस्यमा केन्द्रीय क्याम्पसको प्रतिनिधित्व हुने अधिकार समेत अन्य आङ्गिक क्याम्पसमा सर्न सक्नेछ । खड्काले स्ववियु प्रतिनिधिको अभावमा विद्यार्थीहरू गुणस्तरीय शिक्षाको अधिकारबाट वञ्चित हुने बताएका छन् । उनले भनेका छन्, ‘स्ववियु संस्था बन्धक बनाई विद्यार्थीको प्रतिनिधित्व समाप्त पार्ने र गुणस्तरीय शिक्षामा अवरोध पुर्‍याउने षड्यन्त्र भइरहेको छ । यस विरुद्ध हामी सबै विद्यार्थी एकताबद्ध हुन जरुरी छ ।’

छत्र खड्का स्वयं आमरण अनसनमा बसेका छन् भने अन्य केही विद्यार्थीहरू रिले अनसनमा सहभागी छन् । उनीहरूले निर्वाचन सुचारु नहुँदासम्म सत्याग्रह जारी रहने चेतावनी दिएका छन् । विद्यार्थीहरूले विश्वविद्यालय प्रशासन र सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै अविलम्ब निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button