तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा गोल्डकप आगामी चैत्र २२ गतेबाट

बारा । बाराको सिमरा रङ्गशालामा आयोजना हुने १५ औँ संस्करणको जीतपुरसिमरा गोल्डकप आगामी चैत्र २२ गते शुक्रवारबाट सञ्चालन हुने भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुन लागेको प्रतियोगिताबारे आयोजक नव–जनजागृति युवा क्लबले सिमरा रङ्गशालामा मङ्गलबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । 

आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार सिमरा रङ्गशालाको फ्लड लाइटमा आयोजना हुने प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन् भने उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्ताले समान २५ हजार तथा इमर्जिङ प्लेयरले १५ हजार सहित ट्रफि प्राप्त गर्नेछन् । 

प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् ।प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, मच्छिन्द्र फुटबल क्लब, फ्रेण्ड्स क्लब, हिमालयन शेर्पा क्लब, भरतपुर फुटबल क्लब चितवन, सलहेश युवा क्लब सिराहा, मकवानपुर जिल्ला फुटबल संघ हेटौँडा र आयोजक नवजनजागृति युवा क्लब सिमराको सहभागिता रहनेछ ।

क्लबको आर्थिक अवस्था तथा ए डिभिजन क्लबहरूको वर्तमान अवस्थाका कारण सहभागी टिमको सङ्ख्या घटाइएको क्लबले जनाएको छ । यसअघिका संस्करणहरूमा कम्तीमा १० टिमको सहभागिता रहने गरेको थियो ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामचन्द्र लामा, उपाध्यक्ष राजदास श्रेष्ठ, शङ्कर थापा, महासचिव शम्भुसिंह ठकुरी सहित क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button