तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट बाँकेमा कुखुराको अवैध आयात बढ्दा किसान सङ्कटमा

बाँके । भारतसँग जोडिएका बाँकेका विभिन्न नाकाबाट पछिल्लो समय कुखुराको अवैध आयात बढेको छ। यसले जिल्लाका किसानहरूले गरेको कुखुरा उत्पादन र पोल्ट्री व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको छ। व्यवसायीहरूले अवैध आयात रोक्न नाकामा खटिन थालेका छन्।

कुखुरा व्यवसायी मञ्च बाँकेका अध्यक्ष धर्मराज पोखरेलका अनुसार अवैध आयातका कारण नेपाली व्यवसायीहरूको ठूलो लगानी डुब्ने खतरा बढेको छ। यसैले, व्यवसायीहरू आफैँ नाकामा पुगेर अवैध तस्करी गर्नेहरूको निगरानी गर्ने र प्रहरीलाई जानकारी गराउने कार्य सुरु गरेका छन्।

पोखरेलका अनुसार अवैध रूपमा भित्र्याइएका कुखुराहरू नेपालगन्ज बजारका विभिन्न मासु पसल र अन्य स्थानबाट बरामद गरी प्रहरीले नियन्त्रणमा लिन थालेको छ।

व्यवसायीहरूले खुला सीमाको फाइदा उठाउँदै बर्दियाको बलई गाउँ फुटाहा नाकादेखि पूर्वी बाँकेको नरैनापुरसम्म दर्जनौँ अवैध नाकाबाट कुखुराको तस्करी भइरहेको बताएका छन्। नेपालमा एक किलो कुखुरा उत्पादन गर्न २२० रुपैयाँसम्म खर्च लाग्ने तर भारतमा भने ९० रुपैयाँमै तयार हुने भएकाले मूल्य असमानताका कारण तस्करी मौलाएको हो।

बाँकेमा पाँच सयभन्दा बढी साना तथा ठूला कुखुरा पालक किसान र व्यवसायी रहेको तथ्याङ्क कुखुरा व्यवसायी मञ्च बाँकेसँग छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, एसपी तुल बहादुर कार्कीले सीमा क्षेत्रबाट कुखुराको अवैध तस्करी भइरहेको सूचना प्राप्त भएपछि नियन्त्रणका लागि गम्भीर भएर काम गरिरहेको बताउनुभएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार फागुन महिनामा मात्र अवैध रूपमा भारतबाट ल्याइएका तीन लाख ७६ हजार ८१० रुपैयाँ मूल्य बराबरको बोइलर कुखुरा र मासु नियन्त्रणमा लिएर पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जलाई बुझाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button