तपाईँ सुन्दै हुनुहुन्छः

दाताको सहयोग घटे पनि अनिवार्य दायित्व सरकारले निर्वाह गर्ने मन्त्री पौडेलको भनाई

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यका बजेट समयमै खर्च गर्ने वातावरण बनाउन सक्रियता देखाउनुभएको छ  । मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा तथा केन्द्रहरूलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले समय बाँकी छँदै अधिकतम प्रगति देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ । 

मन्त्रालयको कार्य प्रगतिबारे नियमित बैठक राखेर जानकारी लिई रहनुभएका मन्त्री पौडेलले यसपाली आर्थिक वर्षको अन्त्यसम्ममा अधिकतम नतिजा प्राप्त हुने गरी कर्मचारीतन्त्रलाई सक्रिय बन्न निर्देशन दिनुभयो । 

मन्त्री पौडेलले मन्त्रालय अन्तर्गतका महाशाखा तथा केन्द्रहरूको नियमित रुपमा कार्य प्रगतिको रिपोर्टका आधारमा आवश्यक पृष्ठपोषण दिँदै आइरहनु भएको छ । 

यसक्रममा मङ्गलवार प्रगति कमजोर भएका महाशाखा तथा केन्द्रहरूलाई मन्त्री पौडेलले लक्ष्यअनुसार काम गर्नका लागि सजग बनाउनु भयो । 

‘दातृ निकायहरूबाट बजेट कटौतीका समस्या हाम्रा आम समस्या हुन्,’ मन्त्री पौडेलले भन्नुभयो, ‘समस्या जसले पनि देखाउन सक्छ । तर हामीले भएका श्रोतको अधिकतम उपयोग गरेर त्यसको समाधान पनि निकालौँ ।’ 

मन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेट प्रगतिको अधिकतम नतिजा निकाल्नका लागि बचेको समय सक्रिय भएर काम गर्नका लागि विभागीय प्रमुखहरूसँग आग्रह गर्नुभयो । 

‘हामीसँग बजेटमा श्रोत छ तर सोचजस्तो कार्यान्वयन हुन नसकेको विषय समीक्षा गरौँ’ उहाँले भन्नुभयो, ‘अब ४ महिना बाँकी छ पूर्ण उपयोग र परिणाममुखी नतिजा दिनुहोला ।’ 

मन्त्री पौडेलले परम्परागत शैली बदलेर काममा नयाँपन आवश्यक रहेको भन्दै त्यसका नयाँ सोचका साथ काम गर्नेहरूलाई सदैव साथ रहने बताउनुभयो । ‘तपाईँहरूको काम प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक छ भने भन्नुहोला,’ मन्त्री पौडेलले भन्नुभयो, ‘हामी त्यसमा हरसम्भव प्रयास गर्नेछौँ ।’

स्वास्थ्यमा दाताको बजेट कटौतीले परेका समस्याबारे आफू जानकार रहेको भन्दै मन्त्री पौडेलले अनिवार्य आवश्यक विषयमा सरकारले विकल्प दिने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button