राहत सामग्रीसहित सेनाको चिकित्सक टोली म्यानमार पठाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले प्रदेश तथा स्थानीय तहलाई आगामी तीन वर्ष सम्म उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी आर्थिक वर्ष २०८२/०८३ देखी आर्थिक वर्ष २०८६/०८७ सम्मका लागि राजश्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत भएको जानकारी दिनुभयो ।
यस्तै बैठकले आगामी आर्थिक वर्षका लागि सरकारले प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको हिस्साको अनुमानित रकम र वित्तीय समानिकरण अनुदान रकम समेत स्वीकृत गरेको बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले दिनुभएको जानकारी अनुसार मन्त्रिपरिषद् बैठकले हालै गएको विनासकारी भूकम्पबाट प्रभावित मित्रराष्ट्र म्यानमारमा औषधि लगायतका राहत सामग्री सहित नेपाली सेनाको चिकित्सक टोली म्यानमार पठाउने निर्णय गरेको छ ।
यस्तै बैठकले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा चुडामणी चापागाईँलाई नियुक्त गर्ने, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कार्यकारी निर्देशक पदमा डा. प्रद्युम्नराज पाण्डेलाई नियुक्त गर्ने, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्