तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जस्थित बाल सुधार गृहमा उत्पन्न तनाव साम्य

वीरगन्ज । वीरगन्जस्थित बाल सुधार गृहमा रहेका बाल कैदीबन्दीहरूले सुधार गृहको व्यवस्थापन प्रति असन्तुष्टि जनाउँदै तोडफोड गर्न थाले पछि आज दिउँसो उत्पन्न तनाव अपराह्न ३ बजे देखी साम्य भएको छ ।

सुधार गृहमा खाना, बसोबास लगायतका समस्या रहेको भन्दै आज दिउँसो देखी बाल कैदीबन्दीहरूले होहल्ला गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

बाल सुधार गृहमा कैदी बन्दीहरू हुलहुज्जत गर्दै तोडफोड गर्न लागेको सूचना पाएपछि प्रहरी तत्काल घटनास्थल पुगेको थियो । पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, स्थिति नियन्त्रणमा लिन सुरक्षा टोली परिचालन गरिएको थियो ।

घटनापछि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक मिश्र, र प्रहरी नायब उपरीक्षक किशोर लम्साल सहितको टोलीले बाल कैदीबन्दीहरूसँग छलफल गर्नुभएको थियो । 

प्रमुख जिल्ला अधिकारी अर्यालले उनीहरूको असन्तुष्टि समाधान गर्ने प्रतिबद्धता जनाएपछि अपराह्न देखी अवस्था साम्य भएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिनुभयो । 

वीरगन्ज बाल सुधार गृहमा हाल विभिन्न कसुरमा संलग्न १ सय २७ जना बाल कैदीबन्दी रहेका छन् । यसअघि २०८० भदौ २६ गते पनि सुधार गृहभित्रकै कैदीबन्दीहरूबीच झडप हुँदा ११ जना बाल कैदीबन्दी र ३ जना प्रहरी घाइते भएका थिए ।

वीरगन्जको घनाबस्ती बीच रहेको बाल सुधार गृहमा पटक–पटक यस्ता घटना भइरहेकाले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन स्थानीयले माग गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button