तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको डढेलो नियन्त्रणमा नआउँदा आसपासका बासिन्दाहरू प्रभावित 

वीरगंज । पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय पर्सा  तथा मध्यवर्ती क्षेत्र अन्तर्गत रहेको राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा एक साता देखि लागेको डढेलो नियन्त्रणमा आउन नसक्दा बन जङ्गल आसपासका बासिन्दा प्रभावित भएका छन् । 

वनमा लागेको डढेलो नियन्त्रणमा सम्बन्धित निकायले खासै पहल नगरेको स्थानीयले गुनासो गरेका छन् ।

सव–डिभिजन वन, सव डिभिजन कार्यालय वसन्तपुर, रङ्पुर, मानवा, बढनियार र सोलकपुर तथा पर्सा राष्ट्रिय निकुञ्जको महादेव पोष्ट, चारभैया पोष्ट, गडुवा लाइन पोष्टर निर्मल बस्ती पोष्टर पन्चमुखी सामुदायिक बन र सुनाखरी उपभोक्ता समिति, कुशुम बाटिका मध्यवर्ती सामुदायिक अन्तर्गत रहेको वन क्षेत्रमा बिगत एक हप्तादेखि डढेलो लागेको हो । डढेलोका कारण करोडौँ मूल्य बराबरका काठहरू तथा बोट बिरुवा जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।

आगलागीबाट निस्केको धुवाँले बिशेषगरी जङ्गलसँग सिमाना जोडिएका साबिकका निर्मल बस्ती, सुवर्णपुर, महादेवपट्टी, सेढ्वा, सङ्कर सरैया, गादी, सोनबर्षा, बिरुवागुठी लगायतका दर्जनौँ स्थानीय हरुमा आँखा चिलाउने, आँखा रातो हुने बिहानको समयमा धुवाँले अँध्यारो हुने जस्ता समस्या देखिएकाले खास गरि मुटुको रोगीलाई समस्या हुने गरेको स्थानीय हरुले गुनासो गरेका छन् ।

यता डिभिजनल वन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मन्जुर अहमदले वनमा लागेको डढेलो नियन्त्रणका लागि जानकारी भएको स्थानहरूमा तुरुन्तै पुगी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, साझेदारी समूहका सदस्यहरु र वन रक्षकको टोली परिचालन गरिएको र बाँकी स्थानमा लागेको डढेलो नियन्त्रण गर्न जिल्लाले निर्देशन दिइसकेको बताउनुभयो । 

आगो नियन्त्रणमा एक्लो वन कर्मचारी र प्रहरीले मात्रै नभई स्थानीय को पनि सहयोग चाहिएको अहमदले बताउनुभयो । 

यसैबीच सुनाखरि उपभोक्ता समिति र पञ्चमुखी सामुदायिक वनमा लागेको डढेलो निभाउन स्थानीय उपभोक्ताहरू नेपाली सेनाको सहयोगमा डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको र कतिपय ठाउँमा नियन्त्रणमा पनि आइसकेको सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर पाख्रिनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button