तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

वीरगञ्ज ,पर्सा । वीरगञ्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ । 

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आगामी पाँच वर्षका लागि सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनका लागि प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि रु चार अर्ब ७१ करोड लागतमा छनोट भएको जानकारी दिनुभयो । 

समितिका अनुसार सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनका लागि आह्वान गरेको बोलपत्रको प्राविधिक मूल्याङ्कनमा कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड र प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि छनोट भएका थिए । 

कन्टेनर कर्पोरेसन अफ इन्डिया प्रालिले भने रु चार अर्ब ५१ करोड रकमको बोलकबोल गरेको थियो । समितिका अनुसार छनोट भएको कम्पनीसँग ठेक्का सम्झौता भएपछि आगामी साउनदेखि पाँच वर्षसम्म सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको काम गर्न पाउनेछ । यसअघि पनि सोही कम्पनीले रु तीन अर्ब ३३ करोड लागतमा पाँच वर्षका लागि सुक्खा बन्दरगाह व्यवस्थापन र सञ्चालनको ठेक्का प्राप्त गरेको थियो । 

वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा अवस्थित छ । यस बन्दरगाहमा कार्गो रेलबाट मात्रै मालसमान ल्याउने गरिन्छ । यो सन् २००० मा विश्व बैङ्कको ऋण सहयोगमा रु ८२ करोड लागतमा निर्माण गरिएको हो । भारत सरकारको रु २० करोड लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरिएको छ । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा भने रु ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन गरेको छ । गत आवमा भने सो कार्यालयले रु ४७ अर्ब ३१ करोड राजस्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button