अमेरिकाले डिपोर्ट गरेका थप एक भुटानी शरणार्थी झापामा पक्राउ
भद्रपुर, झापा । अमेरिकाले डिपोर्ट गरी भूटान पठाएको तर भुटानले पनि लखेटेपछि नेपाल प्रवेश गर्न लागेका एकजना भुटानी शरणार्थी झापामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय अशोक गुरुङ छन् ।
सशस्त्र प्रहरीले गएराति मेचीनगर नगरपालिका –४ स्थित मिलनटुङ्ग सीमा नाकामा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका गुरुङलाई नियन्त्रणमा लिएको थियो । चेकजाँच गर्दा उनीसँग परिचय खुल्ने कुनै पनि कागजात थिएन । आफू अमेरिकाबाट फिर्ता भएर आएको भुटानी नागरिक बताउने गुरुङलाई राति नै इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसअघि अमेरिकाले डिपोर्ट गरी झापा छिरेका तीनजना पूर्व शरणार्थी पक्राउ परेका थिए । प्रहरीले शनिबार दमक ३ बेलडाँगी शिविरबाट ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धानका लागि अध्यागमन कार्यालय काँकडभिट्टालाई जिम्मा लगाए पनि उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।
अमेरिकाबाट डिपोर्ट भएर भूटान फर्केका १० जना पूर्व शरणार्थीलाई भूटान सरकारले आफ्नो देशमा बस्न नदिएपछि उनीहरू भारत हुँदै नेपाल पस्न खोजेकोमा चारजना झापामा पक्राउ परिसकेको छन् भने ६ जना भारतको सीमावर्ती बजार पानीट्यांकीमा बसेको हुनसक्ने आशङ्का प्रहरीको छ ।
प्रतिक्रिया राख्नुहोस्