भोजपुरमा पनि भेटिन थाल्यो रेडपाण्डा,
भोजपुर । भोजपुर जिल्लामा पनि लोपोन्मुख रेडपाण्डा (हाब्रे) भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको छ ।
रेडपाण्डा संरक्षणका लागि जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक एक वडामा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु भएको हो ।

विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डा जिल्लामा पनि देखिन थालेकाले यसको संरक्षणका लागि दुई पालिकामा कार्यक्रम समेत सुरु भएको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो । रेडपाण्डा नेटवर्कसँगको समन्वयमा सामूहिक अभियानले टेम्केमैयुङ गाउँपालिका वडा नम्बर एक, तिम्मा र साल्पासिलिछो गाउँपालिका वडा नम्बर पाँच, दोभानेमा रेडपाण्डा संरक्षण अभियान थालिएको छ ।

टेम्केमैयुङ गाउँपालिकाको मुन्दुम पदमार्ग आसपासका बन क्षेत्रहरूमा दुर्लभ तथा लोपोन्मुख रेडपाण्डा (हाब्रे) भेटिने गरेको छ । गाउँपालिकाको एक नम्बर वडाको सुम्लिखाको धप्पर एकराते सामुदायिक वन क्षेत्रमा सामूहिक अभियान संस्थाका समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रमका फिल्ड कर्मचारीहरूको तर्फबाट रेडपाण्डा भेटेर तस्वीर समेत खिचेको संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
रेडपाण्डा संरक्षणका लागि सम्बन्धित निकायसँग जिल्ला तहमा अन्तरक्रिया तथा छलफलका कार्यक्रमहरू समेत सञ्चालन हुँदै आई रहेको संस्थाका महासचिव गणेश प्रधानले बताउनुभयो । सामुदायिक वनसँग समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन भएको छ । रेडपाण्डा संरक्षणका लागि डिभिजन वन कार्यालय भोजपुर र सम्बन्धित सामुदायिक वनसँग सहकार्य गरिने छ ।
प्रतिक्रिया राख्नुहोस्