तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी कर प्रभावित व्यवसायहरूलाई सहयोग गर्ने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले मङ्गलबार अमेरिकी करबाट प्रभावित व्यवसायहरूका लागि करिब एक हजार ‘परामर्श केन्द्र’ स्थापना गर्ने घोषणा गर्नुभएको छ । साथै उहाँले करहरूबाट छुट पाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

टोकियो वासिङ्टनको सबैभन्दा नजिकको आर्थिक र रणनीतिक मित्रराष्ट्र हो । यहाँका कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठुला लगानीकर्ता हुन् र करिब दश प्रतिशत जापानी रोजगारहरू अटो क्षेत्रसँग जोडिएका छन् ।

ट्रम्पले बुधबार कुन देशमा कुन–कुन कर लगाइने घोषणा गर्ने बताउनुभएको छ र सबै व्यापारिक साझेदारहरू यसको निशानामा रहेको चेतावनी दिनुभएको छ ।

उहाँले अप्रिल ३ मा संयुक्त राज्य अमेरिकामा निर्माण नभएका सबै अटोमा २५ प्रतिशत कर लगाउने पनि बताउनुभएको छ ।

इसिबाले मङ्गलबार अमेरिकी आयातमा प्रतिशोधात्मक भन्सार शुल्क लगाउने बारेमा बोल्नुभएन तर उहाँले आफ्नो सत्तारूढ गठबन्धनसँग ‘प्रतिक्रियात्मक उपायहरूको विवरण’ मा छलफल गर्ने बताउनुभयो ।

अहिलेका लागि एक हजार परामर्श डेस्क खोल्नुका अतिरिक्त उहाँले अमेरिकी भन्सार शुल्कहरू सक्रिय भएपछि साना र मध्यम आकारका व्यवसायहरूलाई कोष प्राप्त गर्न मद्दत गर्न ‘हामी सक्दो प्रयास गर्नेछौँ’ भन्नुभयो ।

“जापान अमेरिकाका लागि सबैभन्दा ठूलो लगानीकर्ता हो । यसलाई ध्यानमा राख्दै हामी जापानको छुटका लागि कडा आह्वान गर्न जारी राख्नेछौँ”, उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “यदि मैले आफैँ (संयुक्त राज्य अमेरिका) भ्रमण गर्नु आवश्यक ठानिएको छ भने, म त्यसो गर्न हिचकिचाउँदिनँ ।”

शुक्रबार प्रधानमन्त्री इसिबाले कार र पार्ट्समा २५ प्रतिशत कर घोषणा गरिएपछि ट्रम्पको करसम्बन्धी विचारहरू ‘बुझ्न कठिन’ भएको बताउनुभएको थियो ।

“राष्ट्रपति ट्रम्पले त्यहाँ साथी र शत्रु दुवै छन् र साथीहरू अझ कठिन हुन सक्छन् भनिरहनुभएको छ । यो बुझ्न धेरै कठिन छ”, इसिबाले एक संसदीय यी समिति बैठकमा भन्नुभयो । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button