तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशलाई स्वास्थ्य र शिक्षामा आत्मनिर्भर बनाइने : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवनको सोमबार शिलान्यास गर्नु भएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नं १४ स्थित मणिमण्डप पछाडि रहेको गुठीको १८ बिघाभन्दा बढी जग्गामा निर्माण हुन लागेको यो भवन प्रतिष्ठानका लागि महत्वपूर्ण संरचना हुने प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डा. रामनरेश पण्डितले जानकारी दिनु भयो । 

मुख्यमन्त्री सिंहले शिलान्यास कार्यक्रममा बोल्दै भवन निर्माणका लागि साढे २ करोड रुपैयाँको ठेक्का आह्वान भइसकेको जानकारी गराउनु भयो । उहाँले निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न गर्नका लागि निर्माण व्यवसायीसँग आग्रह गर्नु भयो । 

उहाँले निर्माण कार्य निर्धारित समयभन्दा अगाडि सम्पन्न भएमा ठेकेदारलाई प्रोत्साहन (इन्सेन्टिभ) दिइने र ढिलाइ भएमा जरिवाना (पेनाल्टी) लगाइने रणनीति रहेको स्पष्ट पार्नु भयो । मुख्यमन्त्री सिंहले समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्दै आगामी दिनमा मधेश प्रदेशलाई स्वास्थ्य र शिक्षामा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. विनोद यादवले प्रतिष्ठानको शैक्षिक भवनसहित अत्याधुनिक कक्षा कोठा, प्रयोगशाला र अस्पतालको संरचना निर्माण गर्ने योजना रहेको बताउनु भयो । 

उहाँले भवन निर्माणपछि शैक्षिक गतिविधिमा सुधार आउने विश्वास व्यक्त गर्नु भयो । नयाँ भवनले अस्पतालको सेवा सुविधा विस्तार हुने र यसले मधेश प्रदेशवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने बताउनु भयो । 

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले कानुनी प्रक्रिया पूरा गरी भवन निर्माण हुन लागेको जानकारी दिनुभयो । उहाँले सामाजिक हितका लागि निर्माण गरिने भवनले कुनै पनि समुदायलाई असर नगर्ने दाबी गर्दै भवनको दुवै छेउमा वैकल्पिक सडकको व्यवस्था मिलाइने जानकारी दिनु भयो  । 

भवनको निर्माण सम्पन्न भएपछि यस प्रतिष्ठानमा विभिन्न चिकित्सा तथा स्वास्थ्य विज्ञानसम्बन्धी अध्ययन कार्यक्रम सञ्चालन गरिने भएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button