तपाईँ सुन्दै हुनुहुन्छः

म्यान्मा र थाइल्याण्ड भूकम्प अपडेटः मृत्यु हुनेको सङ्ख्या १५० पुग्यो

काठमाडौै।म्यान्मा र थाइल्याण्डमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी लगभग १५० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । दर्जनौं मानिस भत्किएका भवनहरूमा फसेका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पले म्यान्माका ठूला भागहरूमा भवन ध्वस्त भयो, पुल भत्किए, सडक भत्किए र सयौं किलोमिटर टाढा बैङ्ककमा निर्माणाधीन ३० तले गगनचुम्बी भवन पनि भत्कियो ।

यद्यपि प्रकोपको पूर्ण गम्भीरता अझै खुल्न सकेको छैन । गृहयुद्धबाट प्रभावित म्यान्माका नेताले अन्तर्राष्ट्रिय सहायताको लागि अपील गर्नुभएको छ ।

जन्टाका प्रमुख मिन आङ ह्लिङले १४४ जनाको ज्यान गएको र ७३२ जना घाइते भएको बताउनुभयो । साथै, उहाँले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताउनुभयो । थाइल्याण्डमा अहिलेसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

“केही ठाउँमा, केही भवनहरू भत्किए,” राजधानी नेपिडावको एक अस्पतालको भ्रमणपछि टेलिभिजनमा सम्बोधन गर्दै उहाँले भन्नुभयो ।

“म कुनै पनि देश, कुनै पनि संस्था वा म्यान्माका जो कोहीलाई पनि सहयोग गर्न आउन आमन्त्रित गर्न चाहन्छु । धन्यवाद ।”

उहाँले विपत्तिपछि व्यापक राहत प्रयास गर्न आग्रह गर्नुभयो । “विदेशी सहायताको लागि सबै बाटो खोलिदिएको बताउनुभयो ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button