७९ वर्षका कर्म बुवा जसले १२ कक्षासम्म पढाएर परिवारको जिम्मा लगाए

नवलपरासी, पश्चिम् । समाजमा अझै पनि मानवता हराएको छैन भन्ने दरिलो उदाहरण बन्नुभएको छ बर्दघाटका दल बहादुर गुरुङ । जसले अर्काकी ५ बर्षकी छोरीको १९ वर्षसम्म आफ्नै घरमा राखेर पूर्ण रुपमा अभिभावकत्व ग्रहण गर्नुभयो। उहाँले आफ्नै छोरी सरह आफूसँगै राखेर पालनपोषण गर्नुभयो ,शिक्षा दीक्षा दिनुभयो ।
बर्दघाट नगरपालिका वडा नम्बर ८ बस्ने गुरुङले बर्दघाट नगरपालिका वडा नम्बर ४ बस्ने अपसना कुमाललाई हुर्काएर १९ वर्षको बनाउनुभयो । उहाँले अहिले उपासनालाई वडा प्रतिनिधि र सामाजिक अगुवाहरूको उपस्थितिमा परिवारको जिम्मा लगाउनुभएको छ ।

अत्यन्तै विपन्न परिवार हातमुख जोड्नै कठिन ५ वर्षको उमेर उपासना सडक बालबालिका झैँ भौँतारिरहेका अवस्थामा गुरुङले उनलाई पालनपोषणको जिम्मा लिएर आफ्नो घर लैजानुभएको थियो । “२०६५ साल तिरको कुरा हो एउटा बालिका सडक पेटीमा अरूले कुहिएर फालेको फलफूल ,खानेकुरा खाएर केवल बाच्नका लागि बाचिरहेको, ५ वर्षको उमेरमै पेट भर्न भोगेको पिडा यो सबै देखेर मेरो मन भरियो अनि मैले केही व्यक्तिहरूको रोहबरमा ती नानीलाई ल्याएर पालनपोषण गरे”, विगतलाई सम्झँदै गुरुङ भन्नुभयो ।
जिङ्ग्रिङ्ग कपाल, मैलो च्यातिएको कपडा अभिभावकको काखमा रमाउने उमेरकी कलिली बालिका बाच्नकै लागि अरूले फालेका खानेकुरा खादै हिँडेको त्यो दृश्यले आफ्नो हृदय गाँठो परेर आयो र ती बालिकाको जीवनको सहारा बन्ने आफूले निधो गरेको गुरुङले सुनाउनुभयो ।

“सानैमा उपासनाका बुवा बिते, आम (माया कुमाल) बोल्न नसक्नेछ्न् । उनलाई सबैले लाटिमाया भनेर चिन्छन् । उनको एक जना दाइ छन् उनले भारतमा मजदुरी गर्दै आएका छन् ।”, उहाँले भन्नुभयो, “यो नानीलाई त घर ल्याएर कपाल कोरिदिँदा भुईँभरि जुम्रा झरेर कुचोले बढारियो अनि मट्टितेल हालेर मारेको त्यस्तो अवस्था थियो”
५ वर्षको उमेरमा लगेर उपासनालाई नर्सरीमा भर्ना गरिदिनुभएका गुरुङले अहिले उनलाई कक्षा १२ सम्म अध्ययन गराइदिनुभएको छ । आफ्नै छोरी सरह स्वास्थ्योपचारदेखि अभिभावकले निर्वाह गर्ने सबै भूमिका उहाँले निर्वाह गर्नुभएको छ । अब आफू पनि वृद्ध भएकाले उनलाई परिवारको जिम्मा लगाएको गुरुङले बताउनुभयो । “दुख त लागेको छ नि छोरी जस्तै पालेको अब उसको भविष्य पनि सोच्नुपर्ने छ हामीलाई हेरेर बसेर नि भएन,अब आफ्नो खुट्टामा उभिन सक्ने भएकी छ, मैले गर्ने कर्तव्य गरेँ, म बाचुन्जेल अझै पनि सक्ने गर्छु”, गुरुङले भन्नुभयो । अब नगरपालिका वा कुनै संघ संस्थाले उसलाई जागिर दिए हुन्थ्यो भन्ने आफ्नो इच्छा रहेको उहाँले सुनाउनुभयो । गुरुङ अहिले आफै ७९ वर्षको हुनुभयो तर उहाँलाई अझै पनि आफ्नो उमेरको भन्दा उही छोरीको चिन्ता छ ।
बाबु (स्व.गोरे कुमाल)को ममता भोग्न र बुझ्न नपाएकी उपासनालाई अहिले बुवालाई छोड्नु पर्दा निकै पीडा भएको छ । उनी अझै पनि दिनमा एक÷ दुई पटक सोही घरमा पुग्ने गरेकी छन् । “मैले परिवारको जिम्मा लगाए यो त बेलुका यही घरै पो आएछ”, उनका कर्म बुवा गुरुङले भावुक मुद्रामा भन्नुभयो ।

आफू आफ्नो खुट्टामा उभिएपछि ती बुवा आमाको पनि रेखदेख गर्ने उपासना बताउँछिन्। “यत्रो बर्ष बुवाले मलाई लगेर पाल्नु भयो पढाउनुभयो, छोड्न त मन छैन मन त दुखेको छ तर पनि मैले केही गर्नुपर्छ उहाँहरूको लागि पनि, यो मेरो कर्तव्य”, उहाँले भन्नुभयो ।
बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बेदविना तिवारीले वडामा यस्तो पुण्यको काम गर्न पाउँदा मन प्रफुल्लित भएको बताउनुभयो । अहिलेको समाजमा मानवताको खडेरी र व्यक्तिवादी चिन्तन हाबी भएको बेलामा यस्तो मानवताको काम उदाहरणीय भएको र समाजमा आफ्ना लागि मात्रै होइन अरूका लागि पनि बाच्नुपर्छ भन्ने असल उदाहरण भएको वडा अध्यक्ष तिवारीले बताउनुभयो । उहाँको आगामी भविष्यका लागि सहयोग गर्न समेत सहयोगी मनहरूलाई अध्यक्ष तिवारीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्