तपाईँ सुन्दै हुनुहुन्छः

झापामा सशस्त्रको छापा, एक करोडको अवैध लत्ताकपडा र मोटरपार्टस बरामद

भद्रपुर, झापा । झापामा सशस्त्र प्रहरीले एक करोड मूल्य बराबरको अवैध लत्ताकपडा र मोटरपार्टस् बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाले गोप्य सूचनाका आधारमा मङ्गलवार छापा मार्ने क्रममा उक्त अवैध सामान बरामद भएको सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिनुभयो ।

झापाको मेचीनगर ६ झिल्के घामटोलस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाबाट डिएसपी मदन कुमार रसाइलीको कमाण्डमा खटिएको टोलीले अनुसन्धानको क्रममा स्थानीय मदन पोखलको घरबाट ३९ बोरा र उत्तम ठकुरीको घरबाट २० बोरा गरी अनुमानित मूल्य एक करोड बराबरको विभिन्न प्रकारका कपडा तथा मोटरपार्टस बरामद गरेको जनाइएको छ ।

बरामद सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको  सूचना अधिकारी पोखरेलले जानकारी दिनुभयो । 

सशस्त्र प्रहरीसँगै राजश्व अनुसन्धान कार्यालय इटहरीबाट अनुसन्धान अधिकृत बिदुर गौतमको नेतृत्वको टोली उक्त स्थानमा पुगेपछि कारबाही प्रक्रिया अघि बढाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button