बाजुराका ५ हजार घरधुरीमा पुग्यो राष्ट्रिय प्रसारणको विद्युत्

बाजुरा । बाजुराका करिब ५ हजार घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा जडान गरिएको छ । २०७६ माघमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको बाजुरामा हालसम्म ५ हजार घरधुरी ग्राहक सङ्ख्या पुगिसकेका छन् ।
बाजुरामा रहेका २८ हजार ६५ घरधुरी मध्ये करिब २० प्रतिशत अर्थात् ५ हजार घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेको हो । नेपाल विद्युत् प्राधिकरण बाजुरा वितरण केन्द्रका अनुसार हाल जिल्लाका ९ स्थानीय तहमध्ये ३ पालिकाका ५ हजार घरधुरीमा विद्युत् सेवा पुगेको छ भने बाँकी ६ पालिकामा लाइन बिस्तारको काम भइरहेको छ।

हाल सम्म सदरमुकाम समेत रहेको बडीमालिका नगरपालिकामा सबैभन्दा बढी घरधुरीमा घरधुरीमा विद्युत् सेवा पुगेको छ। भने खप्तड छेडेदह गाउँपालिकाका सबै वडामा पहुँच पुग्ने गरि जडान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । त्यसै गरी बुढीगंगा नगरपालिका वडा नम्बर १, २ र ३ मा पूर्ण रुपमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा बलिरहेको छ । बाँकी वडामा पनि सेवा दिने गरि काम भइरहेको नेपाल विद्युत् प्राधिकरण बाजुरा वितरण केन्द्रका सूचना अधिकारी गुणराज भट्टले बताउनुभयो ।
भट्टका अनुसार बुढीनन्दा नगरपालिकामा पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान कार्य अन्तिम चरणमा पुगेको छ भने पोरखेगढी कोल्टी हुँदै स्वामिकार्तिकको जुकोटसम्म लाइन विस्तार गरिनुका साथै बुढीनन्दा नगरपालिका-९ र १० मा बत्ती पुगिसकेको छ ।बाजुरा राष्ट्रिय प्रसारणको विद्युत् लाइनसँग जोडिएको करिब ५ वर्षपछि ११ केभिएबाट ३३ केभिए प्रसारण लाइनमा विस्तार गरिएको छ । जिल्ला सदरमुकाम मार्तडीमा सवस्टेशन निर्माण सम्पन्न पश्चात् ०८१ माघबाट वितरण केन्द्रले ३३ केभिए विद्युत् प्रसारण लाइन जडान गरेको वितरण केन्द्र प्रमुख राजेशकुमार झाले बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्