चालु आवमा बर्दियाको सीमा नाकाबाट २०३ जनाको उद्धार

बाँके । बर्दिया जिल्लाको विभिन्न सीमा नाकाबाट चालु आर्थिक वर्ष २०८१÷८२ को फागुन मसान्तसम्ममा जोखिमपूर्ण यात्रामा रहेका २०३ जनाको उद्धार गरिएको छ।
नेपाल–भारत सीमा क्षेत्रमा जोखिमपूर्ण यात्रामा रहेका बेला माइती नेपालले उनीहरूलाई उद्धार गरेको हो।
माइती नेपालका अनुसार उद्धार गरिएकामध्ये १८ वर्षभन्दा कम उमेरका १५५ जना बालिका र १८ वर्षभन्दा माथिका ४८ जना किशोरी तथा युवती छन्। भारततर्फ लैजाने क्रममा उनीहरूको उद्धार गरिएको हो।
उद्धार गरिएकामध्ये सबैभन्दा बढी बढैयाताल गाउँपालिकाका ५६ जना रहेका छन्। गुलरिया नगरपालिकाका १९ जना, बासगढी नगरपालिकाका २३ जना, मधुवन नगरपालिकाका ८ जना, बारबर्दिया नगरपालिकाका ८ जना, राजापुर नगरपालिकाका २ जना, ठाकुरबाबा नगरपालिकाका २ जना र गेरुवा गाउँपालिकाका ४ जना उद्धार गरिएका छन्।
बर्दिया जिल्लाको सीमा नाकाबाट भारत जाने अधिकांश किशोरी र युवतीलाई दिल्ली, मुम्बई, सिमला जस्ता ठूला सहरमा पुर्याएर दलालहरूले बिक्री गर्ने गरेको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले बताउनुभयो।
दलालहरूले घरेलु कामदारको काम दिलाउने बहाना, विवाहको प्रलोभन र खुला सिमानाको फाइदा उठाएर किशोरीहरूलाई झुक्याउने गरेको पाइएको छ।
उद्धार गरिएका अधिकांशलाई पारिवारिक पुनर्मिलन गराउँदै घर फिर्ता पठाइएको छ। यस्तै, मानव बेचबिखनमा संलग्न दुई जनाविरुद्ध मुद्दा दायर गरिएको बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो।
यसै अवधिमा बाँके जिल्लाबाट ३० जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये सुर्खेतका ५ जना, कैलालीका ३ जना, काभ्रेपलाञ्चोकका १ जना, जाजरकोटका १ जना, दाङका १ जना, दार्चुलाका १ जना, सल्यानका २ जना, दैलेखका २ जना, कालिकोटका १ जना र १ जना भारतीय महिला रहेको माइती नेपालले जनाएको छ।
माइती नेपालको निरन्तर सक्रियता र सुरक्षाकर्मीको सहकार्यले मानव बेचबिखन नियन्त्रणमा उल्लेखनीय योगदान पुगेको छ। यस्तै अभियानलाई आगामी दिनमा थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच समन्वय आवश्यक देखिएको छ।
प्रतिक्रिया राख्नुहोस्