तपाईँ सुन्दै हुनुहुन्छः

आईसिपी भन्सार वीरगन्जबाट ८ महिनामा ५३ अर्ब २६ करोड बढीको नेपाली उत्पादन निर्यात

गत वर्षका तुलनामा यस आर्थिक वर्षको ८ महिनामा १७२ प्रतिशतले निर्यात वृद्धि

बीरगंज । वीरगन्जको आईसिपी भन्सार नाका हुँदै आर्थिक बर्ष २०८१/०८२ को   साउन देखि फाल्गुन मसान्त सम्मको ८ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुक तर्फ ५३ अर्ब २६ करोड ९४ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ । 

गत वर्षको तुलनामा यस आर्थिक वर्षको ८ महिनामा १ सय ७२ प्रतिशतले निर्यात वृद्धि भएको वीरगन्ज स्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिनुभयो । 

आर्थिक बर्ष २०८०/०८१ को   साउन देखि फाल्गुन मसान्त सम्मको ८ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुक तर्फ १९ अर्ब ५८ करोड ७४ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको थियो ।

वीरगन्ज नाका हुँदै भारत, डेनमार्क, अष्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगन्ज स्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिनुभयो । 

आईसिपी भन्सार नाका हुँदै आर्थिक बर्ष २०८१/०८२ को ८ महिनामा सबैभन्दा धेरै मटमासको प्रशोधित तेल भारत निर्यात भएको छ । ८ महिनामा  वीरगन्ज नाकाबाट मात्रै २८ अर्ब १९ करोड ४३ लाख ५१ हजार मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ । त्यसैगरी वीरगन्ज नाकाबाट सो अवधिमा ५ अर्ब ६७ करोड ३२ लाख ५१ हजार मूल्य बराबरको सूर्यमुखी प्रशोधित तेल निर्यात भएको छ ।

सो अवधिमा ४ अर्ब ८८ करोड ५३ लाख ७२ हजार मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ भने ३ अर्ब ६८ करोड ३१ लाख ११ हजार मूल्य बराबरको फलाम तथा फलामका सामाग्रीहरू निर्यात भएको वीरगन्ज भन्सार कार्यालयबाट उपलब्ध तथ्याङ्कमा उल्लेख छ । 

वीरगन्ज नाकाबाट ८ महिनाको अवधिमा १ अर्ब   ७३ करोड ७५ लाख २८ हजार मूल्य बराबरको सेन्थेटिक यार्न निर्यात भएको छ । त्यसैगरी सो अवधिमा १ अर्ब ७० करोड ६२ लाख ४३ हजार मूल्य बराबरको विभिन्न कपडाहरू भरत तथा तेस्रो मुलुक निर्यात भएको छ । ८ महिनाका अवधिमा १ अर्ब ४१ करोड २८ लाख ५६ हजार मूल्य बराबरको पशु आहारको कच्चा पदार्थ, ९० करोड ८६ लाख ५३ हजार मूल्य बराबरको सवारी साधन,मेसिनरी तथा पाटपुर्जा,६५ करोड ३४ लाख १२ हजार मूल्य बराबरको आयुर्वेदिक औषधि, र ६४ करोड ३६ लाख ५३ हजार मूल्य बराबरको कुकुर तथा बिरालाको खाना तेस्रो मुलुक निर्यात भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले बताउनु भयो । 

सो अवधिमा वीरगन्जको आईसिपी भन्सार नाकाबाट मनोरञ्जनका सामान, स्पोर्ट सुज, दन्तमन्जन,  रेसाको कपडा,स्टिलका भाडाकुडा र सि.आर.सीट, जीआई.पाइप लगायतका सामानहरू भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button