एमाले लोकतान्त्रिक गणतन्त्रका पक्षमा जनसचेतना, जनप्रदर्शन र विशेष सभा गर्ने

काठमाडौँ । नेकपा (एमाले)ले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ ।
एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको हो । तीन महिने वडा केन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
यस क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्याली आयोजना गरिने एमाले जनाएको छ ।
एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने, चैत २४ देखि ३० गतेसम्म बाग्मती बाहेकका छ वटा प्रदेशका धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने भएको छ । प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने भएको छ भने जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिने एमाले ले जनएको छ ।
पाटीका महासचिव शङ्कर पोखरेलले आज सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकबाट सम्बोधन गर्नुहुँदै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान निर्देशन दिनुभयो ।
नेकपा (एमाले) केन्द्रीय सचिवालयको यही चैत ४ गते बसेको ४६औँ बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर रूपमा छलफल गरी पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गरेको थियो ।
महासचिव पोखरेलले जनचेतना अभियान सञ्चालन गर्दा तथ्यका आधारमा गर्न पनि निर्देशन दिनुभयो । सो अवसरमा उहाँले पञ्चायतकालीन र लोकतन्त्रको अवधिमा भएका आर्थिक र सामाजिक विकासका साथै जनताको जीवनस्तरमा आएको व्यापक परिवर्तन सम्बन्धमा तथ्यगत विवरण समेत जानकारी गराउनुभयो ।
सो क्रममा उहाँले पञ्चायतको अन्त्यपछि कुल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, निरपेक्ष गरिबी दर, सडक सञ्जाल विस्तार, जनतालाई आधारभूत पिउने पानीको उपलब्धता, सञ्चार सुविधा, विद्युत् उत्पादन तथा उपभोग, नेपालीको औसत आयु वृद्धि, शिशु मृत्युदरमा न्यूनीकरण लगायतका महत्वपूर्ण सूचकहरूमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्