तीन अस्पतालमा मस्तिष्क पक्षघातको औषधि उपलब्ध हुने

काठमाडौँ । तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षघात (ब्रेन स्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने भएको छ ।
अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वल्र्डवाइड’ को सहजीकरणमा उक्त औषधि उपलब्ध भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी प्रारम्भिक चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध हुने जनाएको छ ।
औषधि हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मस्तिष्क पक्षघातमा आवश्यकपर्ने महँगो औषधि उपलब्ध गराएकामा संस्थाप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो औषधि राज्य कोषबाट किनेर आवश्यक पर्नेलाई उपलब्ध गराउन गाह्रो थियो । आवश्यकताअनुसार अरू अस्पतालमा पनि वितरण गर्ने लक्ष्य छ । दातृ संस्थासँग अरू महँगा औषधि पनि माग गरेका छौँ ।”
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा निर्देशक डा पवन जङ्ग रायमाझीले मस्तिष्क पक्षघातमा अत्यावश्यक र ज्यान जोगाउन सकिने औषधि प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार ८०० भाइल ‘अल्टिप्लेस’ औषधि उपलब्ध भएको छ। उहाँले भन्नुभयो, “मस्तिष्कमा रहेका रक्तनलीमा अकस्मात् रगत जम्दाखेरी मस्तिष्क पक्षघात हुने सम्भावना हुन्छ । यदि यस्तो व्यक्तिमा साढे चार घण्टाभित्र यो औषधि प्रयोग गर्न सकेमा बिरामीको ज्यान जोगिन्छ ।”
डा रायमाझीका अनुसार यो औषधि एक भाइलमा २० मिलिग्राम हुने र एउटै भाइलको रु ७० हजार पर्दछ । उहाँले भन्नुभयो, “यो औषधि प्रयोग गर्न दक्ष स्वास्थ्यकर्मी (न्युरोलोजिस्ट) को आवश्यकता पर्दछ । त्यसैले सुरुआती चरणमा तीन वटा अस्पतालबाट दिने सोचेका छौँ । पछि आवश्यकताअनुसार सबै प्रदेशका सङ्घीय अस्पतालमा उपलब्ध हुन्छ ।”
उहाँले यो औषधिलाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको ‘कोल्ड चेन’मा २ देखि ८ ‘सेन्टिग्रेड’मा भण्डारण गरिएको र आवश्यकताअनुसार उपलब्ध गराइने जनाउनुभयो । नेपालमा एक वर्षमा ३०० देखि ४०० को सङ्ख्यामा पक्षाघातका बिरामी उपचारका लागि स्वास्थ्य संस्था आउने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्