तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप: आर्मी क्लबद्वारा मधेश प्रदेशलाई २१८ रनको लक्ष्य 

लमही । विभागीय टोली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेश टिमलाई २१८ रनको विजयी लक्ष्य दिएको छ ।

दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत आज विभागीय टोली त्रिभुवन आर्मी क्लबले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा पूरै ओभर खेलेर २१७ रन जोड्यो ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा त्रिभुवन आर्मीका भीम सार्कीले सर्वाधिक ८९ रन जोडे । १२६ बलको सामना गरेका भीमले ४ चौकासहित ८९ रन बनाउँदै पवन सर्राफको बलमा एलबीडब्लू आउट भए । अर्ध शतक पूरा गर्न उनले ८० बल खेले ।

पहिलो पावर प्लेमा १ विकेटको क्षतिमा ३९ रन जोडेको आर्मीले दोस्रो पावर प्लेमा पुग्दा थप ३ विकेटको क्षतिमा ११३ रन जोडेको थियो ।

अन्तिम पावर प्लेमा ६५ रन जोडेको आर्मीले ३ विकेट गुमाएको थियो । आर्मीका लागि तृतराज दासले २४ बलमा ३ चौकासहित १४ रन, सन्तोष कार्कीले ५८ बलमा ३ चौकासहित ३३ रन जोडे । कप्तान विनोद भण्डारी २७ बलमा ११ रन बनाएर कमल गुप्ताको बलमा एब्लीडब्लु आउट भए । सोमपाल कामी १ रनमा अनिल साहको हातबाट लङअनका क्याच आउट भए ।

बसिर अहमद २२ बलमा १० रन, विवेक यादव २१ बलमा १६ रन जोडेर पेभेलियन फर्किए ।

कुशल मल्लले २० बलमा २ छक्कासहित २४ रनमा अविजित रहँदा नरेन साउद पनि ५ बलमा १ चौकासहित ८ रनमा नटआउट रहे ।

बलिङ तर्फ मधेशका रुपेश सिंहले ७ ओभरमा १ मेडनसहित ३९ रन दिएर २ विकेट लिए ।

कमल गुप्ताले १० ओभरमा १ मेडनसहित २२ रन खर्चेर २ विकेट लिए । पवन सर्राफले पनि ५ ओभरमा २२ रन खर्चेर २ विकेट लि।

रञ्जित कुमारले १० ओभरमा १ मेडनसहित ५२ रन दिएर १ विकेट लिए ।

२१८ रनको विजयी लक्ष्य पछ्याउन मधेश प्रदेशले कहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button