तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मुर्रा राँगाको वीर्य परीक्षण सफल, किसान उत्साहित

बाँके। पशुपालनका माध्यमबाट किसानको जीवनस्तर उकास्ने उद्देश्यले सरकारले अघि बढाएको नश्ल सुधार कार्यक्रमअन्तर्गत मुर्रा राँगाको वीर्य परीक्षण बाँकेमा सफल भएको छ। खजुरा गाउँपालिका–२ एल गाउँका किसान बमराज रेग्मीको भैँसीले भारतबाट ल्याइएको मुर्रा राँगाको वीर्यबाट पहिलो पाडो जन्माएको छ।

राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाटबाट खरिद गरिएको मुर्रा राँगाको वीर्यबाट कृत्रिम गर्भाधान गराएपछि पाडो जन्मिएको किसान रेग्मीले जानकारी दिए। योसँगै मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको र उन्नत जातका पाडापाडी उत्पादनबाट भविष्यमा पशुपालनलाई आधुनिकीकरणतर्फ उन्मुख गराउन सहज हुने उनले बताए।

राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाटले भारत सरकारले अनुदानमा दिएको उन्नत जातको मुर्रा राँगाबाट गत वर्षदेखि वीर्य सङ्कलन सुरु गरी किसानलाई बिक्री वितरण गर्दै आएको कार्यालय प्रमुख पशु विकास अधिकृत डाक्टर खिमानन्द खनालले जानकारी दिए। गत वर्ष मङ्सिर ६ गते नेपालगञ्ज ल्याइएका १५ मुर्रा राँगामध्ये तीन राँगा गौघाटमा राखिएको छ। गौघाटमा राखिएकामध्ये दुई राँगाबाट वीर्य उत्पादन गरी सङ्कलन तथा किसानलाई वितरणको काम भइरहेको छ।

खजुरामा मुर्रा राँगाको वीर्यबाट जन्मिएको पाडोलाई ५० प्रतिशत मुर्रा जातको प्रमाणपत्र दिन सकिने राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका पशु सेवा प्राविधिक देवनारायण जैसीले जानकारी दिए। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतले नेपाललाई नश्ल सुधार कार्यक्रमका लागि उपहार स्वरुप मुर्रा राँगा प्रदान गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button