तपाईँ सुन्दै हुनुहुन्छः

आमाको किरियामा छोरीहरू

डडेल्धुरा । के छोरा के छोरी ? सन्तान सबै बराबरी हुन्छन् भन्ने मान्यतालाई आत्मसाथ गरेका छन् छोरीहरूले । 

डडेल्धुराको परशुराम नगरपालिका –६ कि राधादेवी खड्काको यही चैत १ गते मृत्यु भयो । अपाङ्गता भएका श्रीमान् ७९ वर्षीय खडक सिंहले किरिया गर्न सक्नु भएन । मृतक राधा देवीका छोराहरू छैनन्, कान्छी छोरी रोहिताले आमाले मृत्यु भन्दा अघि आफूहरूलाई किरिया बस्नु भन्नु भएकोले चार दिदी बहिनीमध्ये तीन जना किरियामा बसेको बताउनुभयो । आफूसँगै बाजे तर्फका एक जना दाइ पनि किरियामा बस्नु भएको रोहिताले बताउनुभयो । 

जेठी दिदी विर्मा महिनावारी भएका कारण किरियामा बस्नुभएको छैन भने बाँकी मानमती कार्की, रोहिता कठायत र दुरा थापा तीनै जना किरियामा बस्नुभएको छ । सबै विवाहिता हुन । आमा बिरामी भएपछि चारै दिदीबहिनी फागुनमै माइती घर तातापानी पुगेका थिए । 

त्यहाँ दश दान सकेर उनीहरू घरतर्फ लागेका थिए । घर पुगेको एक दिनमै आमाको मृत्युको खबर पाएपछि उनीहरू माइतीघर पुगेर किरियामा बसेका हुन् । 

खड्क सिंहका दाइको एक वर्षअघि मात्रै मृत्यु भएको थियो । उनको मृत्युको वर्ष दिन नपुगेकोले उनीतर्फका छोराले किरिया बस्न पाएनन् । ‘मृत्युपछि हामी आफै पनि किरियाका लागि तयार भइसकेका थियौँ,’ रोहिताले भन्नुभयो  ‘छोरीले किरिया बस्नुहुन्न भन्ने कुरा कतैबाट पनि आएन । ब्राह्मणले पनि छोरी पनि छोरा जत्तिकै हुन् किरिया बस्दा हुन्छ भन्नुभयो ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button