तालाबन्दी र विवादले रुपन्देहीका आठ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
रुपन्देही । देशभरका धेरै क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहे पनि रुपन्देहीमा त्रिविका दुई मुख्य आङ्गिक क्याम्पसहित ८ वटामा विवादका कारण निर्वाचन हुन सकेन ।
रुपन्देहीमा रहेका १२ वटा क्याम्पसहरूमध्ये यस्तो विवादमा कारण ८ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको हो । विद्यार्थी सङ्गठनहरूबिच विवाद र तालाबन्दीले आठ वटामा क्याम्पसमा निर्वाचन नै रोकिएको हो । विद्यार्थी सङ्गठनहरूले आफूले जित्न नसक्ने कलेजमा अनावश्यक बखेडा झिकेर निर्वाचन रोकेका हुन् ।
उम्मेदवारी दर्ताकै क्रममा देवदह आदर्श बहुमुखी क्याम्पस देवदहमा भने स्ववियुको सिङ्गो कमिटी नै निर्विरोध निर्वाचित भइसकेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार आठ वटा क्याम्पसमा तालाबन्दीका कारणले गर्दा चुनाव रोकिएको हो ।
रुपन्देहीमा लुम्बिनी क्षेत्रमै धेरै विद्यार्थी भएको त्रिविको आङ्गिक क्याम्पस बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, पक्लिहवा कृषि क्याम्पस र सम्बन्धन पाएका लुम्बिनी वाणिज्य क्याम्पस, सिद्धार्थ गौतम बुद्ध क्याम्पस, राममणि बहुमुखी क्याम्पस, लीलाराम बहुमुखी क्याम्पस, सरस्वती संस्कृत विद्यापीठ क्याम्पसमा निर्वाचन रोकिएको हो । यी क्याम्पसहरूमा धेरैजसो आफ्नो उपस्थिति कमजोर भएका सङ्गठनले तालाबन्दी गरेर रोकेको त्यहाँ अध्यापन गर्ने प्राध्यापकहरूको भनाइ छ ।
आज हरैया बहुमुखी क्याम्पस, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस र सहिद नारायण पोख्रेल बहुमुखी क्याम्पसमा मतदान भएको हो । सबैभन्दा धेरै विद्यार्थी रहेको बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुले एकल जितिरहेको ठाउँ हो । यहाँ नेविसंघ सहितका ७ साना सङ्गठनले तालाबन्दी गरेका छन् । रुपन्देहीको अर्को ठूलो सरकारी क्याम्पस भैरहवा बहुमुखी क्याम्पसमा पनि निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । विद्यार्थीहरूले तोडफोड गरेपछि निर्वाचन समितिले चुनाव प्रक्रिया स्थगित गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्