परराष्ट्र मन्त्रीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग नयाँ दिल्लीमा आज भेटवार्ता गर्नुभएको छ । भारतको विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच आज साइडलाइन भेटवार्ता भएको हो ।

त्यस भेटका क्रममा नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानीसँगै मन्त्री डा राणाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह गर्नुभयो । विपिनको रिहाइका लागि पहल गरिदिन यसअघि पनि आफूले अमेरिकी सरकारलाई आग्रह गरेको स्मरण गराउँदै उहाँले विपिनको रिहाइका लागि नेपालले अमेरिकी सहयोगको अपेक्षा गरेको जानकारी दिनुभएको थियो ।
इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिनलाई सन् २०२३ को अक्टोबरमा हमासहरुले इजरायली भूमिबाट अपहरण गरेर लगेका थिए । उनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ । विश्वका नेता एवं आफ्ना समकक्षीहरूसँगको भेटमा मन्त्री डा राणाले विपिन रिहाइका लागि सहयोगको याचना गर्दै आउनुभएको छ ।
सो भेटवार्ताका क्रममा वरिष्ठ सुरक्षा निर्देशक रिकीले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्