तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशको प्राथमिकतामा सहकार्य गर्न युएनडिपीका निर्देशक समक्ष मुख्यमन्त्री पाण्डेको प्रस्ताव 

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेट समक्ष प्रदेशको प्राथमिकतामा सहकार्य गर्न आग्रह गर्नुभएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार भएको भेटघाटमा मुख्यमन्त्री पाण्डेले सशक्तीकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई युएनडिपीले गर्दै आएको सहयोग प्रभावकारी रहेको उल्लेख गर्दै प्रदेशको प्राथमिकतामा सहकार्य गर्न आग्रह गर्नुभएको हो । 

युएनडिपीले दिगो बिकास, फोहोरमैला व्यवस्थापन, नवप्रवर्तन, उद्यमशीलताको क्षेत्रमा गण्डकी प्रदेश भित्र गर्दै आएको सहयोगको उहाँले प्रशंसा गर्नुभयो । 

भेटमा युएनडिपीका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटले गण्डकी प्रदेश सरकारसँगको भेट नेपालको पहिलो औपचारिक कार्यक्रम भएको उल्लेख गर्नुभयो । पिएलजिएसपी कार्यक्रम अन्तर्गत कार्यान्वयन भएका कार्यक्रमहरूको प्रभावकारीताका बारेमा पनि उहाँले चासो राख्नुभएको थियो । 

युएनडिपीको सहयोगमा गण्डकी प्रदेशमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) सञ्चालनमा रहेको छ । यो कार्यक्रमले स्थानीय तह र प्रदेशको क्षमता बिकास, सशक्तीकरणको क्षेत्रमा सहयोग पुगेको मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभयो । 

भेटमा युएनडिपीको सहकार्यमा सञ्चालन भइरहेको पिएलजिएसपी कार्यक्रमलाई थप प्रभावकारी बनाउने, नयाँ सहकार्यको क्षेत्र पहिचान गर्ने विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

कार्यक्रममा गण्डकी प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले दोस्रो पञ्चवर्षीय योजनामा सरकारले लिएको रणनीतिका बारेमा जानकारी गराउनुभएको थियो । 

भेटघाटमा गण्डकी प्रदेश प्रमुख सचिव रघुराम विष्ट, युएनडिपीका नेपाल स्थित आवासीय प्रतिनिधि क्योको योकोसुका लगायत प्रतिनिधि मण्डल र मुख्यमन्त्री कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button