तेस्रो संस्करणको नेपाल सुपर लिगको ट्रफी अनावरण

भद्रपुर, झापा । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको ट्रफी झापामा अनावरण गरिएको छ ।
चैत १६ गतेदेखि काठमाडौँमा सञ्चालन हुने प्रतियोगिताको ट्रफी आज नेपालकै सबैभन्दा होचो भूभाग कचनकवलबाट अनावरण गरिएको हो । त्यसपछि जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा पनि ट्रफी अनावरण गरिएको थियो ।
रंगशाला परिसरमा आयोजित ट्रफी अनावरण तथा प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष भेषराज भण्डारी, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल झापा गोल्डकपका अध्यक्ष केदार गिरीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
ट्रफी नेपालको होचो भूभाग कचनकवलबाट काँकरभिट्टा, धुलाबारी, बर्ने चिया बगान, बुधबारे, अर्जुनधाराधाम, बिर्तामोड, झिलझिले, गौरादह हुँदै दमकमा पुगेर टुङ्गिएको छ ।
प्रतियोगितामा सात वटा टिमले भाग लिनेछन् । प्रतियोगिताको उद्घाटन खेल ललितपुर र काठमाडौँबीच हुनेछ । फाइनल खेल वैशाख १३ गते हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्