हेटौँडामा फोहोर प्लास्टिक सङ्कलन गर्न म्याराथन
मकवानपुर । मकवानपुरको हेटौँडामा फोहोर प्लास्टिक सङ्कलन गर्न म्याराथन प्रतियोगिता आयोजन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल हेटौँडा–९ नम्बर वडा कमिटीको आयोजनामा शनिबार प्लास्टिक सङ्कलन म्याराथन प्रतियोगिता आयोजना गरिएको हो ।

सहरी जीवनशैलीको उपजका रुपमा उत्पादित प्लास्टिक व्यवस्थापनमा समस्या भइरहेका बेला वडामा यसको व्यवस्थापनलाई ध्यानमा राखेर प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । सर्वव्यापी र सरल उपभोग्य वस्तुका रुपमा प्रयोग हुने प्लास्टिकको व्यवस्थापन गर्नु र स्वच्छ वडा बनाउनु साथै सचेतना फैलाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
हेटौँडा–९ स्थित गुम्बा चोकबाट सुरु भएको म्याराथन ४० मिनेटभित्र मानव सेवा आश्रमसम्मको फोहोर सङ्कलन गर्नुपर्ने गरी नियम बनाइएको थियो । तोकिएको समयभित्र घेरै तौल प्लास्टिकजन्य फोहोर सङ्कलन गर्नेहरूबाट प्रथम, द्वितीय र तृतीय चयन गरिएको थियो । प्रतियोगितामा ६.९८ केजी प्लाष्टिक सङ्कलन गर्दै दिवस लामा प्रथम हुनु भयो । ५.९४ के जी सङ्कलन गर्दै दिपु डङ्गोल द्वितीय र ५.०६ केजी फोहोर प्लाष्टिक सङ्कलन गर्दै दिवस खतिवडा तृतीय हुनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनु भएकाहरूलाई क्रमशः नगद तीन हजार, दुई हजार र एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर राना, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल लेखा आयोगका प्रमुख सन्तोष चौलागाईले रिबन काटेर उद्घाटन गर्नुभएको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल लेखा आयोगका प्रमुख सन्तोष चौलागाईले पुरस्कार वितरण गर्नुभएको थियो ।
म्याराथन प्रतियोगितामा ६० जना युवाहरूको सहभागी थियो ।
प्रतिक्रिया राख्नुहोस्