तपाईँ सुन्दै हुनुहुन्छः

पाँचौँ मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

झापा । लिग विजेता चर्च ब्वाइज युनाइटेडले पाँचौँ मेचीनगर गोल्डकपको उपाधि जितेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० को गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधि चुमेको हो ।

जीतसँगै चर्च ब्वाइजले नगद १० लाख,  ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको काँकडभिट्टाले नगद ५ लाख, ट्रफी र मेडल प्राप्त गरेको छ ।

खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आजको खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका समिर तामाङ भए । उनले नगद ११ हजार प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजकका खमिर गिल्सन कन्दङ्वा घोषित भए । उनले नगद ५१ हजार प्राप्त गरे ।  सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्रका युसुफ मलिक भए । उनीहरूले जनही नगद २५ हजार र ट्रफ्री प्राप्त गरे । 

उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ, प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजकै टिकेन्द्र थापा, उत्कृष्ट डिफेन्डर काँकरभिट्टाका दिवस उराउ भए । उनीहरूले नगद २१ हजार रुपैयाँ प्राप्त गरे । उदीयमान खेलाडीको अवार्ड आयोजकका परशु राई भए । उनले नगद १५ हजार प्राप्त गरे ।  

विजेता तथा उपविजेता टिमलाई समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेशसभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button