तपाईँ सुन्दै हुनुहुन्छः

‘उपभोक्ता अदालतले स्वच्छ र प्रतिस्पर्धी बजार स्थापित गर्न भूमिका खेल्छ’

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उपभोक्ता अदालतले स्वच्छ र प्रतिस्पर्धी बजार स्थापित गर्दै उपभोक्ताको अधिकार सुरक्षित गर्ने बताउनुभएको छ । 

शनिवार त्रिपुरेश्वर स्थित उपभोक्ता अदालत उद्घाटन कार्यक्रममा उहाँले जनताको बदलिँदो आकाङ्क्षालाई सम्बोधन गर्न स्वच्छ र प्रतिस्पर्धी बजार प्रणाली आवश्यक रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले उत्पादन क्षेत्र, सेवा क्षेत्र, व्यापार क्षेत्र, अत्यावश्यक वस्तु र खाद्य पदार्थ देखि समग्र वस्तु र सेवा बजारमा सरकारले गरेको अनुगमनकारी हस्तक्षेपले बजार अनुशासन पालना गराई उपभोक्ताको अधिकार संरक्षण गर्नमा सहयोग पुगेको बताउनुभयो । उहाँले चाडपर्वका बेलामा भएको देशव्यापी बजार अनुगमनले मूल्यलाई नियन्त्रणमा राख्न, उपभोक्ता र विक्रेतालाई स्वच्छ र प्रतिस्पर्धी बजार कायम गर्न गराउन जागरूक राखेको बताउनुभयो । 

मन्त्री भण्डारीले उपभोक्ता अदालतको कामले नेपाली बजारमा गुणस्तर व्यवस्थापन, मूल्य नियमन, र उपभोक्ता गुनासोको सम्बोधन जस्ता क्षेत्रमा सुधार ल्याउन प्रभावकारी भूमिका निभाउने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रमका प्रमुख अतिथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले व्यवसायी र उपभोक्ताबिच सन्तुलित न्याय प्रदान गर्ने  कार्यक्षेत्र र विशेष जिम्मेवारी उपभोक्ता अदालतको हुने बताउनुभयो । 

उहाँले उपभोक्ता अदालतले सुरुवातमा स्थापित गरेको न्यायिक कवचले उपभोक्ताको अधिकार संरक्षण गर्ने कुरा आत्मसात गर्नुपर्ने बताउनुभयो । उहाँले उपभोक्तालाई अदालतले प्रदान गरेको सेवामार्फत न्यायिक निरूपणको नजिर स्थापित गर्नुपर्ने बताउनुभयो । 

प्रधानन्यायाधीश राउतले पीडित आम सर्वसाधारणले क्षतिपूर्ति दाबीको लागि आउन सक्ने गरी ऐनमा गरिएका विभिन्न व्यवस्था महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले क्षतिपूर्तिसहितको न्याय संवैधानिक प्रत्याभूति भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button