‘खेलकुद स्वास्थ्यका लागि मात्र नभइ आर्थिक उपार्जनको माध्यम बन्दैछ’
तनहुँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद शारीरिक स्वास्थ्यका लागि मात्र नभइ आर्थिक उपार्जनको माध्यम बन्दै गएको बताउनुभएको छ । व्यास नगर ब्याडमिन्टन क्लबले व्यास नगरपालिका–३ बिपी वन वाटिकामा निर्माण गरेको कभर्ड हलको आज उद्घाटन गर्दै उहाँले खेलकुदमा लागेर खेलाडी बाँच्न सक्ने अवस्थाको विकास हुँदै गएकामा खुसी व्यक्त गर्नुभयो ।

“खेलकुद शारीरिक, मानसिक विकासका लागि मात्र नभइ खेलाडीको जीवनयापन गर्ने बलियो माध्यमको रूपमा विकास हुँदै गएको छ”,मन्त्री चौधरीले भन्नुभयो,“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारा रहँदै आएको छ तर आज आर्थिक उपार्जनको आधार बन्दै गएको छ । यो खुसीको कुरा हो ।”
नेपालमा केही समय पहिला भएको एनपिएल क्रिकेटले खेलाडीको आर्थिक जीवनस्तर सुधारका लागि महत्वपूर्ण काम गरेको र अब खेलाडी दिगो रूपमा यही खेलमा लागेर बाँच्न सक्ने अवस्था बनिरहेको उहाँको भनाइ थियो ।
मन्त्री चौधरीले कतिपय नेपाली खेलाडीले विदेशमा खेलेर देशको नाम उँचो राख्न र आफ्नो आर्थिक अवस्था सुधारका लागि राम्रो आम्दानी गरिरहेका बताउनुभयो । “खेल क्षेत्रमा लागेकाहरूले अब निराश बन्नुपर्ने अवस्था छैन । सरकारले पनि सीमित आर्थिक स्रोतका कारण खेल क्षेत्रको विकासमा उल्लेख्य प्रगति गरिसकेको छैन । यसका बाबजुद सरकारले यस क्षेत्रमा उदाहरणीय काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।
गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले जिल्लामा खेलकुदका पर्याप्त पूर्वाधार नभएकाले त्यसतर्फ ध्यान दिन मन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले खेल क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति रघुनाथ पौडेल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव प्रदीपराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति विश्व बाँस्तोला, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायतले खेलकुद राष्ट्र चिनाउने महत्वपूर्ण माध्यम भएकाले यसमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिनुभयो ।
व्यास नगरपालिकाको आर्थिक सहयोगमा कभर्ड हल निर्माण गरिएको ब्याडमिन्टन क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो । उहाँले व्यास नगरपालिकाले रु ८७ लाख ८५ हजार दुई सय ३४ सहयोग अन्य नगद सहभागिता र श्रमदान गरी रु ९६ लाख ६३ हजार सात सय ४७ को लागतमा कभर्ड हल निर्माण भएको हो ।








प्रतिक्रिया राख्नुहोस्