जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि मार खेप्नुपर्ने नेपालजस्ता मुलुकहरूका लागि जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताउनुभएको छ। भौगर्भिक समाजद्वारा सोमबार आयोजित नेपाल भौगर्भिक सम्मेलनको उद्घाटन गर्दै उहाँले जलवायु न्यायको मुद्दालाई विश्वजगतमा पुर्याउनुपर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले ‘जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण, प्राकृतिक प्रकोप र भूविपतकाे व्यवस्थापन’ जस्तो जल्दोबल्दो विषय मूल कथ्य रहेकाले भौगर्भिक सम्मेलनको महत्वलाई बढाएको छ भन्दै यो मानव दैनन्दिनीसँग प्रत्यक्ष सरोकार रहेको विषय भइसकेको स्पष्ट पार्नुभयो । उहाँले विश्वका अतिशय विकसित मुलुकहरूमा भएको अन्धाधुन्ध औद्योगिकीकरण, जीवाष्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपालजस्तो विकासशील देशमा झन् बढी असर परेको पनि उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले पृथ्वीको तापक्रममा वृद्धि भइरहेको र विगत तीन दशकको अवधिमा हिमालयमा रहेका हिमनदीहरूको हिउँ एक तिहाइ घटिसकेको उल्लेख गर्दै हिमतालहरू विस्फोटनको सँघारमा रहेको बताउनुभयो । उहाँले अतिवृष्टिबाट हुने जलप्रकोप, पहिरो र भूक्षयबाट बर्षेनी थुप्रै जनधनको क्षति भइरहेको स्मरण गराउनुभयो ।
उहाँले हिमालय पर्वत शृङ्खलामा बेलाबेलामा गइरहने भूकम्प पनि नेपालको विकास निर्माणका लागि समस्याको रूपमा रहेको बताउँदै केही प्राकृतिक प्रकोपहरूको पूर्वानुमान गर्ने पद्धतिको विकास भइसकेको भए पनि भूकम्पसम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्र आजपर्यन्त पत्ता लगाउन नसकिएको बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो– ‘२०७२ सालमा महाभूकम्प गएको एक दशक पुग्न लागेको पूर्व सन्ध्यामा त्यसको मीमांसा पनि यस सम्मेलनमा गरिने भएकाले यसको महत्व विशेष रूपमा रहेको छ भन्ने मैले ठानेको छु ।’
राष्ट्रपति पौडेलले सम्मेलनमा नेपालका खानीखनिजको अवस्थिति, अन्वेषण, भूविपत्, जलवायु परिवर्तन र भौतिक पूर्वाधारको विकासमा भू–विज्ञानको प्रयोगका बारेमा विमर्श हुने विश्वास व्यक्त गर्नुभयो । प्राकृतिक स्रोतको उत्खनन्, सदुपयोग र बजार व्यवस्थापनका लागि लगानीकर्ताको ध्यान आकर्षण गर्न यो सम्मेलन उपयोगी हुनेछ भन्ने राष्ट्रपति पौडेलको अपेक्षा थियो ।
प्रतिक्रिया राख्नुहोस्