राप्रपालाई काठमाडौं महानगरले तोक्यो १ लाख जरिबाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई १ लाख रुपैयाँ जरिबाना तोकेको छ। महानगरपालिकाले आइतबार पूर्वराजाको स्वागतका क्रममा भएको प्रदर्शनमा वातावरणीय प्रदूषण भएको र सार्वजनिक स्थलमा फोहोर फैलिएको आरोप लगाएको छ।
महानगर प्रहरीले राप्रपा मुख्यालयमा पत्र लेखेर पार्टीको कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले एयरपोर्ट, तिलगंगा गौशाला, सडकपेटी, आईल्याण्ड र त्यहाँका बिरुवा र रेलिङ्गमा भौतिक क्षति पुर्याएको र जथाभावी फोहोर फैलाएको जनाएको छ।
यो पत्र निर्वाचन आयोग र काठमाडौं महानगरपालिकाको प्रशासन विभागलाई पनि पठाइएको छ । पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले त्यसमा हस्ताक्षर गरेका छन्।
पत्रमा फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको उल्लेख गरिएको छ।
यसअघि, गत मंसिर ७ मा दरबार मार्गमा नेकपा एमालेको जागरणसभामा पनि फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरिबानाको पुर्जी थमाएको थियो।
प्रतिक्रिया राख्नुहोस्