तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा धनगढी सभाहल उद्घाटन

सुदूरपश्चिम । प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढी उपमहानगरपालिका–८ मा नवनिर्मित धनगढी सभा हलको आज उद्घाटन गर्नुभएको छ ।

त्यस अवसरमा उहाँले सभाहल निर्माण विकासको प्रमाण भएको भन्दै यसलाई आम जनताको चिन्तन, मनन गर्ने थलो बनाउन आग्रह गर्नुभयो ।  प्रधानमन्त्री ओलीले गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रूपमा सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो । 

 प्रदेश राजधानीका सन्दर्भमा उहाँले संविधानसम्मत ढङ्गले प्रदेशसभाले गर्ने काममा सङ्घीय सरकारले सघाउने बताउनुभयो । प्रदेश राजधानी निर्माण गरिने स्थल कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा हालसम्म निर्माणका कुनै पनि काम अघि बढ्न सकेको छैन ।

कार्यक्रममा मन्त्रालयका उपसचिव मदनकाजी महर्जनले सभाहल निर्माणको प्रतिवेदन पेस गर्नुभयो । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सभा हलको अभाव खड्किएको अवस्थामा नयाँ सभाहल निर्माण गरिएको हो ।

प्रधानमन्त्री ओलीले आजै सभाहल धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुभयो । 

सहरी विकास मन्त्रालयको रु ३२ करोड बढीको लागतमा निर्माण गरिएको सभाहल सात सय ५३ जना अटाउने क्षमताको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button