तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा काङमाङ नरेश राईको एकल कविता वाचन सम्पन्न

धनकुटा । युद्ध कवि काङमाङ नरेश राईको एकल कविता वाचन कार्यक्रम आइतबार धनकुटामा सम्पन्न भएको छ ।

धनकुटा सदरमुकामस्थित होटल मोरिङ्गाको सभाहलमा आयोजित कार्यक्रममा राईले झण्डै दुई दर्जन लामा–छोटा युद्ध कविता सुनाउनुभयो । कवि राईले एघारौँ सम्झनामा बाँचेको म शीर्षकको कविताबाट वाचन सुरु गरेर फर्केर आउनु, आँसु जस्तै छ युद्ध, युद्धभूमीबाट सम्झना, रित्तो सपना, अन्तिम सङ्घर्ष, भिख नसम्झ जस्ता युद्ध कविता सुनाउनुभएको थियो । 

कार्यक्रममा वाचित कविताहरूबारे प्राध्यापक इच्छापूर्ण राईले काङमाङ नरेशका कविताहरूले युद्ध अनि लाहुरेका पीडालाई कतै क्रान्तिकारी चेतले त कतै अत्यन्तै मार्मिक ढंगले प्रस्तुत गर्नुभएको बताउनुभयो ।

काङमाङ नरेश राई अवकाशप्राप्त बेलायती गोर्खा सेना हुनुहुन्छ । उहाँ युद्ध र युद्धले दिएको पीडालाई कवितामार्फत उजागर गर्ने कवि हुनुहुन्छ । उहाँका तेप्लायु, एघार नोभेम्बर, पानी पतिया जस्ता कृति प्रकाशित छन् । 

मिसन पोएट्री धनकुटाले परम्परागतभन्दा फरक ढंगले संयोजन गरेको कार्यक्रमलाई कवि मुकुन्द प्रयासले सहजीकरण गर्नुभएको थियो । 

त्यस्तै मिसन पोएट्री र कार्यक्रमको औचित्यबारे कवि केजी सुब्बाले प्रकाश पार्नुभएको थियो । कवि काङमाङ नरेश राईको चिनारी कवि नरेन्द्र कश्चितले प्रस्तुत गर्नुभयो ।

कार्यक्रमस्थलमै चित्रकार डिल्लीकृष्ण आले मगरले उतार्नुभएको कवि काङमाङ नरेश राईको पोट्रेट मायाको चिनो स्वरूप कविलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा धनकुटा र सुनसरीका कवि, लेखक, साहित्यनुरागी र सञ्चारकर्मीको उपस्थिति थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button