तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ट्राफिक नियम उल्लङ्घनमा नपरेका ८३ चालक सम्मानित 

बाँके । सुरक्षित यात्रा नेपाल, केन्द्रिय कार्यालय बुटवलले बाँकेमा ट्राफिक नियम उल्लङ्घनमा नपरेका ८३ चालक सम्मान गरेको छ ।

सुरक्षित यात्रा नेपालले कोहलपुरमा आज आयोजित कार्यक्रममा बाँकेका दमकल, एम्बुलेन्स, बस, ट्रक र ट्याक्टरका चालकहरूलाई सम्मान गरेको हो। 

लामो समयसम्म कुनै सवारी दुर्घटना नगरेका तथा ट्राफिक नियम उल्लङ्घनमा नपरेका ८३ जना चालकहरूलाई सम्मान गरिएको सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेल्बासेले जानकारी दिनुभयो ।

सो अवसरमा सुरक्षित यात्रा नेपालले सवारी दुर्घटना न्यूनीकरण एवं रोकथामका लागि विभिन्न संघ–संस्था तथा सरोकारवालासँग सहकार्य गर्दै आएको उल्लेख गर्नुहुँदै अध्यक्ष बेल्बासेले सुरक्षित यात्राका लागि दीर्घकालीन योजना अघि बढाइएको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी दान बहादुर कार्कीले सवारी दुर्घटना रोक्न चालकहरूको भूमिका महत्त्वपूर्ण हुने भन्नुहुँदै सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारी, जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर राज पन्त, पत्रकार, बीमा कम्पनीका प्रतिनिधि, विद्यालयका विद्यार्थी तथा विभिन्न संघ–संस्थाहरूको सहभागिता रहेको थियो।

सोही अवसरमा फागुन २३ गते नेपालगञ्जमा सम्पन्न ट्राफिक सचेतना सम्बन्धी वक्तृत्वकला प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो। 

प्रहरी तथ्याङ्क अनुसार वर्ष २०८०/८१ मा लुम्बिनी प्रदेशमा १ हजार १ सय२० सवारी दुर्घटना भएका छन्,  दुर्घटनामा ४ सय ९५ जनाले ज्यान गुमाएका छन् भने १ हजार ६ सय ९४ जना घाइते भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button